हलेसी अग्नी पिडितलाई सहयोग गर्ने रक्षामन्त्रीको आश्वसन

Posted on: 07 Jan, 2018

चिसाङ शेर्पा | पुस २३, खोटाङ | रक्षामन्त्री भिमसेनदास प्रधानले खोटाङको हलेसीका आगलागीबाट प्रभावित क्षेत्रको निरिक्षण गर्नु भएको छ । 

त्रि–धार्मिक एबं पर्यटकीयस्थल हलेसीमा पुस १८ गते राती भएको आगलागीमा चार व्यवसायीका पाँच घर लगायत जल्दा ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएपछि रक्षामन्त्री निरिक्षणकाक्रममा शनिबार साँझ हलेसी आइपुग्नु भएको हो । आईतबार बिहान हलेसीको दर्शन गरेर रक्षामन्त्री प्रधानले प्रभावित क्षेत्र निरिक्षण एबं टहरामा दिन बिताइरहेका पिडितलाई भेटघाट गर्नु भएको छ । पिडितसँगको भेटघाटकाक्रममा रक्षामन्त्री प्रधानले क्याबिनेटमा कुरा राखेर आवश्यक सहयोगका लागि निर्णय गराउने आश्वसन दिनुभएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । 

रक्षामन्त्री प्रधानले घट्नास्थलबाटै सेनाका उच्च अधिकारीलाई फोन गरेर आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको छ । रक्षामन्त्री प्रधान आगलागी प्रभावित क्षेत्रको निरिक्षणपछि दिक्तेलतर्फ हिँड्नु भएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । 

आगलागीमा घर सहित सर्वस्व गुमाएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीस दास लगायतका पिडित अस्थायी टहरामा कष्टपूर्ण दिन विताइरहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!