सिरहामा कठाङ्ग्रिएर तीनको ज्यान गयो

Posted on: 07 Jan, 2018

राम नारायण पंडित | पुस २३, सिरहा | बढ्दै गएको जाडो र शितलहरले कठाङ्ग्रिएर सिरहामा तीन जनाको मृत्यु भएको छ । केहि दिनदेखि लगातार चलेको चिसो हावाको कारणले सुरु भएको शीतलहरका कारण सिरहामा एक बालक सहित तीन जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ७ का ५५ वर्षीय रामरतन महतो, गोलबजार नगरपालिका ४ का शम्भु साहका ६ वर्षीय छोरा लभकुमार साह र गोलबजार २ लालपुरका ७० वर्षीय रामप्रसाद महतो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

निजी तथा सरकारी अस्पतालहरुमा रुघा खोकी, जरो, कोल्ड डायरियाका विरामीहरु बढेको जिल्ला अस्पताल सिरहाका प्रमुख डा. चुमनलाल दासले बताए । 

जाडोले जनजिवन प्रभावित

जाडोले सिरहा सहित तराईका जनजिवन प्रभावित भएको छ । सिरहा सहित तराईका जिल्लाहरुमा विगत केहि दिनदेखि एकाएक बढेको जाडोले जनजिवन कष्टकर बनेको छ । 

विहानै देखि वाक्लो हुस्सु संगै चिसो हावा चलेका कारणले जनजिबन थप प्रभाबित हुदैँ गएको छ । जाडो बढेकोले दैनिक दिनचर्या विताउन समेत समस्या भईरहेका छन् । जाडोको कारण सिरहा, सप्तरी, सुनसरी, मोरंग, झापा, धनुषा, महोतरी, सर्लाही, बारा, पर्सा लगायतका जिल्लाहरुको जनजिबन अस्तब्यस्त बनेको छ । 

जाडो बढेपछि खासगरी बालबालिका र वृद्धवृद्धाहरु बढि समस्यामा परेको छ । चिसो बढेसंगै सर्बसाधारणहरु गरम कपडा र आगो ताप्ने व्यवस्था गर्न थालेका छन् । अत्यधिक जाडोका कारण बजारहरुमा न्यानो कपडाको बिक्री बढेको स्थानिय व्यावसायीहरुको भनाई छ । जाडोमा लगाईने ज्याकेट, सुइटर, टोपि, ट्राउजर, हाइनेक लगायतका बाक्लो कपडाहरुको बिक्रि बढेको छ । 

अति आवश्यक काम बाहेक स्थानीय कोही बाहिर निस्कन सकिरहेका छैनन् । अस्पतालहरुमा चिसोका विरामीहरु बढेका छन् ।

जाडोले सिरहाका सामुदायिक बिद्यालय माघ १ गतेसम्मका लागि बन्द 

प्रतिकूल मौसमका कारण सिरहा जिल्लाका सामुदायिक विद्यालय माघ १ गतेसम्मका लागि बन्द गरिएको छ । बढ्दै गएको चिसोका कारण सामुदायिकमा बिद्यार्थीहरुको उपस्थिति कम भएको र आबतजाबतमा समस्या भएको मध्य नजर गर्दै बिभिन्न शिक्षक संघसंगठन र जिल्ला शिक्षा कार्यालयले आज (आइबार) देखी माघ १ गतेसम्मका लागि सामुदायिक बिद्यालय बन्द गर्ने निर्णय गरिएको एकिकृत अखिल नेपाल शिक्षक संगगठन सिरहाका अध्यक्ष प्रमोद सिंहले जानकारी दिए । 

सिरहामा कुल चार सय २३ सामुदायिक विद्यालय रहेको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ ।

यता, चिसोका कारण सिरहामा सामुदायिक बिद्यालय माघ १ गते सम्मका लागि बन्द गर्ने निर्णय गरेपनि निजि बिद्यालयले संचालनमै रहेका छन् । सिरहामा जाडोले ३ जनाको मृत्यु भइसकेको छ भने चिसोका कारण स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । चिसो मौसमका कारण सर्वसाधारण घरबाट कमै निस्कने गरेका छन् भने निजी विद्यालयका विद्यार्थीहरु जाडोको बेला पनि थर्थर काम्दै विद्यालय जान बाध्य छन् ।

प्रतिकूल मौसममा पनि परीक्षाको नाममा विद्यालय सञ्चालन गरेर केही निजी विद्यालयले स–साना बालबालिकाको स्वास्थ्यमाथि खेलबाड गरिरहेको अभिभावकको गुनासो छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!