खोटाङमा स्वास्थ्य बीमा दर्ता शुभारम्भ

Posted on: 08 Jan, 2018

चिसाङ शेर्पा | पुस २४, खोटाङ | खोटाङमा स्वास्थ्य बीमा सदस्यता दर्ता शुभारम्भ भएको छ । नेपाल सरकार स्वास्थ्य सुरक्षा विकास समिति र जिल्ला स्वास्थ्य कार्यालयका तालिम प्राप्त स्वास्थ्यकर्मीले रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाललाई स्वास्थ्य बीमा सदस्यता कार्ड वितरण गरेर जिल्लाबाट स्वास्थ्य बीमा शुरुवात गरेको हो ।

गत मंसिर १६ गते हलेसी तुवाचुङ नगरपालिकाबाट अन्तरक्रिया गरी थालनी भएको स्वास्थ्य बीमा कार्यक्रमले ४ सयबढि स्वास्थ्यकर्मीलाई जानकारी गराएर सोमबार दिक्तेलस्थित जिल्ला समन्वय समितिको कार्यालयमा कार्यक्रम गरी स्वास्थ्य बीमा शुभारम्भ गरेका हुन् ।

बिमित ब्यक्तिले प्रथम स्वास्थ्य केन्द्र अन्तरगत जिल्ला अस्पताल, ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी प्राथमिक स्वास्थ्य केन्द्र, गाईघाट अस्पताल, ओखलढुंगा अस्पताल र सोलु अस्पतालमा स्वास्थ्य बीमाको सुविधा लिन सकिने जिल्ला अस्पताल खोटाङका डाः राम बहादुर केसीले जानकारी दिनुभयो ।


यसैगरी, तराईका स्वास्थ्य केन्द्रहरुमा कोशी अञ्चल अस्पताल, नोवेल अस्पताल, विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान रहेका छन् । राजधानीमा बीर अस्पताल, ट्रमा सेन्टर, शुक्रराज शास्त्री अस्पताल, शिक्षण अस्पताल, मानव अंग प्रत्यारोपनका लागि भक्तपुर अस्पताल, प्रसुती गृहका लागि पाटन अस्पताल र आँखाका लागि तिलगंगा अस्पतालमा स्वास्थ्य बीमा सेवा लिन पाउने डाः केसीले बताए । 

कुनै पनि ब्यक्तिले पैसाको अभावमा ज्यान गुमाउन नपरोस भन्ने हेतुले शुरुवात गरिएको स्वास्थ्य बीमा कार्यक्रम बराहपोखरी गाउँपालिकाको बरापोखरीमा विवाद हुंदा दर्ता सहयोगी छनौट भएको छैन । दिप्सुङमा एसएलसी उतिर्ण नभएका र छनौट भए पनि तालिममा सहभागी नहुंदा दिप्लुङमा स्वास्थ्य वीमा कार्यक्रम लागु भएको छैन ।  

जिल्लाका स्थानीयवासीले वार्षिक रुपमा दुई हजार ५ सय तिरेर एकाघरको बढीमा पाँच जनाको स्वास्थ्य बीमा गर्न सक्नेछन् । बीमा गराएका परिवारले बढीमा ५० हजार बराबरको स्वास्थ्य उपचार पाउने जनाइएको छ । 

तश्विरमा: स्वास्थ्य बीमा कार्ड लिनुहुंदै रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजाल तस्विर चिसाङ शेर्पा

यस बिषयमा तपाइको प्रतिक्रिया...!