चिसोका कारण सिरहामा थप दुईको मृत्यु

Posted on: 09 Jan, 2018

पुस २५, लहान । पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । 

अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर आज सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुरका ४१ वर्षीया माकोदेवी पासवानको मृत्यु भएको हो । अति विपन्न पासवानको कठ्याङ्ग्रिएर आफ्नै घरमा मृत्यु भएको स्थानीयवासी तथा सीतापुर गाविसका पूर्वअध्यक्ष देवनारायण साहले जानकारी दिनुभयो । 

यस्तै अत्यधिक चिसोको कारण हिजो साँझ कल्याणपुर नगरपालिका घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित मामाघर आएकी ५ वर्षीया काजलकुमारी मण्डलको मृत्यु भएको थियोे । चिसोको कारण निमोनियाले थलिएकी काजललाई उपचारका लागि लहानस्थित अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारजनले बताएका छन् । 

यो सँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि गत आइतबार गोलबजार नगारपालिका–४ का शम्भु साहको ६ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुरका ७० वर्षीय रामप्रसाद महतो र धनगढीमाई नगरपालिका–७ कसहाका ५५ वर्षीय रामरतन महतोको मृत्यु भएको थियो । 

श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित महतोको चिसोका कारण मृत्यु भएको स्थानीयवासीले बताएका छन् । 

अत्यधिक जाडोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । अस्पतालमा रुघा खोकी, ज्वरो, कोल्ड डायरिया लगायतका बिरामी बढेका छन् । 

यसैबीच सिरहाको कर्जन्हा नगरपालिकाले आज वडा नं ६ र ७ का १२० विपन्न गरिब घरपरिवारलाई कम्बल वितरण गरेको छ । वडा नं ६ का ७० र वडा नं ७ का ५० अति विपन्न परिवारलाई कम्बल वितरण गरेको नगरपालिकाका प्रमुख गंगा पासवानले जानकारी दिनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!