रोल्पामा मादक पदार्थ सेवनले मृत्यु र हिंसाका घटना बढे

Posted on: 10 Jan, 2018

उमा केसी/पुस २६, रोल्पा । रोल्पामा मादक पदार्थ सेवनले वर्षेनी थुप्रै मानिसको ज्यान जानुका साथै घरेलु हिंसाका घटना समेत बढिरहेका छन् । 

जिल्लामा मादकपदार्थ सेवनपश्चात लडेर मर्नेको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । २०७२ सालमा यसरी मृत्यु हुनेको संख्या ३४ जना रहेको थियो । मादक पदार्थ सेवनकै कारण विभिन्न घटनामा परी २०७३ सालमा २९ जनाको मृत्युभएको थियो । चालु वर्षको मंसिर मसान्तसम्म यो संख्या १५ जना रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । 

जिल्लामा भवितव्यअन्तर्गत सूचीकृत हुने अधिकांश घटना मदिरा सेवनकै कारण हुने देखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । 

मदिरा सेवनले लैंगिक हिंसाका घटनासमेत बढिरहेको देखिएको छ । कर्तव्य ज्यानदेखि जबर्जस्ती करणीसम्मका घटनाको कारकसमेत मादकपदार्थ सेवन देखिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जानकारी दिएको छ । 

मादक पदार्थ न्यूनीकरणका लागि आमा समूहको सक्रियतामा विभिन्न अभियान सञ्चालन गरिएपनि सार्थकता पाउन नसकेको आमा समूहकी गौमाया केसीले बताउनुभयो । प्रहरीको सहयोगमा मादक पदार्थ न्यूनीकरणका अभियान सञ्चालन गरे पनि अभियानले सार्थकता पाउन सकेन केसीले भन्नुभयो । 

परिवार विखण्डन, मृत्यु, हत्या तथा लैंगिक हिंसाको कारक मादक पदार्थ भए पनि यसको न्यूनीकरण हुन नसक्नु दुःखद् रहेको केसीको भनाइ छ । आमा समूहको सक्रियतामा महिलाको सहभागितामा घरघर पुगेर घरेलु मादक पदार्थ नष्ट गर्ने अभियान चलाउँदा विभिन्न आरोप खेप्न परेको केसीले दुखेसो पोख्नुभयो । 

जिल्लामा घट्ने लैंगिक हिंसाका शतप्रतिशत घटना मादक पदार्थ सेवनकै कारण हुने गरेकाले यसको न्यूनीकरणका लागि आफूहरुले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको लैंगिक हिंसा न्यूनीकरणविरुद्धको जिल्ला कार्यकारी सञ्जालका अध्यक्ष श्रीकुमारी रोकाले बताउनुभयो । 

मादक पदार्थ सेवनको मात्रा जिल्लामा अत्यधिक मात्रामा बढिरहेको देखिएकाले यसको न्यूनीकरणका लागि सडक नाटकलगायतका चेतनामूलक कार्यक्रम चलाएका छौँ, रोकाले भन्नुभयो । 

प्रहरीसँगको समन्वयमा जिल्लाका विभिन्न स्थानमा कार्यक्रम गरिरहेको भए पनि परिणाम अपेक्षाकृत उपलब्धिमूलक हुन नसकेको रोकाको भनाइ छ । अभियान आक्रामक नहुँदासम्म उपलब्धि हासिल गर्न नसकिने उहाँको सुझाव छ । 

जिल्लामा धर्म, जाति र संस्कारका नाममा मादक पदार्थ सेवनमा छुट दिँदा विकृति बढिरहेको महिला मानव अधिकार रक्षक सञ्जाल, रोल्पाका अध्यक्ष तीर्था आचार्यले बताउनुभयो । मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थलमा हिँडडुल गर्ने तथा घरेलु मादक पदार्थ उत्पादन गर्ने सबैलाई हदैसम्मको कारबाही नहँुदासम्म यसको न्यूनीकरण हुन नसक्ने आचार्यको भनाइ छ । 

आमा समूहहरुले स्वतःस्फूर्त रुपमा सञ्चालन गरेको मादक पदार्थविरुद्धको अभियानलाई सहयोग गर्नुपर्ने आचार्यको भनाइ छ । अन्य सामाजिक अभियानजस्तै मादक पदार्थ सेवनविरुद्धको अभियानलाई समेत राज्यले प्राथमिकता दिनुपर्ने आचार्यले सुझाव दिनुभयो । 

मादक पदार्थ सेवनलाई लागुऔषधको रुपमा लिइएकाले यसको न्यूनीकरणका विभिन्न उपाय चालिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो । लागुऔषध नियन्त्रण जिल्ला कार्यकारी सञ्जालमार्फत यसको न्यूनीकरणको कार्ययोजना तयार गरी काम थालनी गर्न लागिएको फुयाँलले बताउनुभयो । 

जिल्लामा हुने अधिकांश घटनाको कारक तत्व मदिरा नै भएको आफूहरुले पहिचान गरिसकेको हुँदा नियन्त्रणका लागि विशेष अभियान चाल्ने उहाँको भनाइ छ । 

जिल्लामा मादक पदार्थ सेवन संस्कारकै अभिन्न अंग रहेको फुयाँलले बताउनुभयो । सामुदायिक प्रहरी सेवा समितिमार्फत अभियानलाई सशक्त बनाउने पनि फुयाँलले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!