चिसोका कारण सिरहामा थप एकको मृत्यु

Posted on: 11 Jan, 2018

पुस २६, लहान । पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एकजनाको कठ्यांग्रिएर मृत्यु भएको छ । 

अत्यधिक चिसोका कारण कठ्यांग्रिएर गएराति सिरहाको धनगढीमाई नगरपालिका–१२ पूर्वीटोल निवासी ५८ वर्षीय खुसिलाल मुखिया मल्हाको कठ्यांग्रिएर मृत्यु भएको हो । 

यससँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । यसअघि गत मंगलबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६, सीतापुर निवासी ४१ बर्षीय माकोदेवी पासवान र कल्याणपुर नगरपालिका घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित मामाघर आएकी पाँच वर्षीया काजलकुमारी मण्डलको मृत्यु भएको थियो । 

चिसोका कारण निमोनियाले थलिएकी काजललाई उपचारका लागि लहानस्थित अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारजनले बताएका छन् । 

यसअघि, गत आइतबार सिरहाको गोलबजार नगारपालिका–४ निवासी शम्भु साहका छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२, लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतो र धनगढीमाई नगरपालिका–७, कसहा निवासी ५५ वर्षीय रामरतन महतोको मृत्यु भएको थियो । 

अत्यधिक जाडोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियालगायतका बिरामी बढेका छन् । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!