मोटरसाइकलको ठक्करबाट घाइते गिरीको उपचारका क्रममा मृत्यु

Posted on: 13 Jan, 2018

पुस २९, जुम्ला । मोटरसाइकलको ठक्करबाट घाइते भएकी चन्दननाथ–९ तलिउम गाउँकी ४० वर्षीया नरकली गिरीको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ । 

उनलाई बुधबार नेपाल दूरसञ्चार शाखा कार्यालय जुम्ला अघि क १ प ४९ नं को मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लागेकी गिरीको उपचार गर्ने शर्तमा चन्दननाथ नगरपालिका–६ जुम्लाका १९ वर्षीय चालक टेकेन्द्र रोकायालाई प्रहरीले छोडेको थियो ।

घाइते गिरीको स्वास्थ्यमा सुधार नहुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले शुक्रबार नेपालगञ्ज रिफर गरेको थियो । रिफर गरिएकी गिरीलाई नेपालगञ्ज लैजाँदै गर्दा जुम्ला विमानस्थलमा उनको मृत्यु भएको प्रतिष्ठानका मेडिकल निर्देशक डा पूजन रोकायाले जानकारी दिए ।

घाइतेको मृत्युपछि चालक रोकाया र मोटरसाइकल दुवै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मृतकका आफन्तले भने गिरीको उपचारमा लापर्बाही गरेको भन्दै शुक्रबार बेलुका प्रतिष्ठानप्रति आक्रोश पोखेका छन् ।

उनीहरुले मृतकको परिवारका लागि उचित राहतको व्यवस्था गर्ने समझदारी नभएसम्म शव नबुझ्ने चेतावनी दिएका छन् । जसका लागि आज जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय, प्रतिष्ठान र पीडित पक्षबीच वार्ता हुने प्रतिष्ठानले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!