अस्थायी भजनघर निर्माण गरिने: काठमाडौँ

Posted on: 14 Jan, 2018

 पुस ३०, काठमाडौँ | स्वयम्भूस्थित आगलागीबाट नष्ट भएको ज्ञानमाला भजनघर नजिकै अस्थायी घर निर्माण गरिने भएको छ । 

शुक्रबार राति भएको आगलागीबाट क्षतिग्रस्त बनेको उक्त घरमा भजनलगायत धार्मिक कार्यक्रम गर्न नमिल्ने भएपछि काठमाडौँ महानगरपालिका र कामपा–१५ वडाले अस्थायी घर र बाजाका सामग्रीको व्यवस्था मिलाउन लागेको प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य जीवनराम श्रेष्ठले बताउनुभयो । त्यहाँ भएको आगलागीबाट करिब रु ३० लाख बराबरको नोक्सान भएको थियो । 

विश्वसम्पदा क्षेत्रमा सूचीकृत उक्त स्थानका अधिकांश सम्पदा भूकम्पले कमजोर बनाएको बताउँदै उहाँले आगजनीले पनि भजनघरमा क्षति पुगेकाले छिट्टै पुनःनिर्माणका लागि सहयोग जुटाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कामपा प्रमुख विद्यासुन्दर शाक्यले धार्मिक गतिविधि भइरहने घर आगलागीले समस्याग्रस्त भएकाले पुनःनिर्माण नहुँदासम्मका लागि अस्थायी टहराको प्रबन्ध गरिने जानकारी दिनुभयो । कामपा–१५ का वडाध्यक्ष ईश्वरमान डंगोलले स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा भूकम्पले क्षति पु¥याएका सम्पदा तथा निजी घरको मर्मत गर्नुपर्नेमा जोड दिनुभयो । 

घटनास्थलको अवस्था बुझ्न आज पुगेका जनप्रतिनिधिसँग भजनघरका सदस्यहरुले सोको पुनःनिर्माण चाँडो गर्न माग गरेका थिए । (रासस)


यस बिषयमा तपाइको प्रतिक्रिया...!