महासंघको संरचना बारेमा सुझाव संकलन गरिने

Posted on: 26 Apr, 2016
प्रकाश धौलाकोटी, बैशाख १४, तेह्रथुम । तेह्रथुममा सामुदायिक वन उपभोक्ता महासंघको विधान तथा सांगठनिक संरचनाबारेमा गाउँ गाउँमा पुगेर सुझाव संकलन गरिने भएको छ । सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ तेह्रथुमको आज सम्पन्न बैठकले महासंघको विधान तथा सांगठनिक संरचना परिमार्जनका लागि गाउँ गाउँमा छलफल कार्यक्रम संचालन गरी सुझाव संकलन गर्ने निर्णय गरेको अध्यक्ष तुलसी संग्रौलाले बताए । उनका अनुसार राज्यको पुःन संरचना सँग–संगै सामुदायिक वन उपभोक्ता महासंघको संरचनामा पनि परिवर्तन हुने भएकाले गाउँ गाउँमा छलफल कार्यक्रम संचालन गरी सुझाव संकलन गर्न लागिएको हो । सामुदायिक वन उपभोक्ता महासंघको आवश्यक्ता, तह, क्षेत्राधिकार,समावेशीकरण, सांगठनिक स्वरुप, अधिवेशन, परिषद, विधान परिमार्जन विधि लगायतका विषयहरुमा सुझावहरु संकलन गरिने बैठकले निर्णय गरेको छ । गाउँ गाउँ बाट आएका सुझावहरुलाई संकलन गरी सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रमा पठाईने महासंघले जनाएको छ । बैठकले सुझाव संकलनकालागि सम्बन्धित क्षेत्रका जिल्ला सदस्य र कर्मचारीहरुलाई जिम्मेवारी समेत प्रदान गरेको सुपरभाइजर जितलाल लिम्बुले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!