जाडोले कठ्यांग्रिँएको कर्णाली, दैनिकी कष्टकर बन्दै

Posted on: 17 Jan, 2018

रामचन्द्र न्यौपाने/माघ ३, डोल्पा |  हिँउदे मौसम शुरु भएसँगै कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, मुगुलगायतका जिल्लामा चिसो दिन प्रतिदिन बाँड्दै गएको छ । 

दिउँसोको घामेले चिसो केही कम हुने भएता पनि बिहान बेलुकी कर्णालीवासीको दैनिकी एकदमै कष्टकर बन्दै गएको छ । बिहान बेलुकीको कठ्यांग्रिँदो जाडोले गर्दा कर्णालीवासीको दैनिकी कष्टकर बन्दै गएको हो ।

“दिउँसो घाम लाग्ने भएकाले केही तातो हुन्छ, बिहान बेलुकी चिसोले सताउने गर्दछ, अत्यधिक चिसोले नियमित सरसफाइमा पनि धेरै समस्या हुने गर्दछ” त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय दिलीप गिरीले भन्नुभयो । अत्यधिक चिसोले नियमित सरसफाइमा समेत समस्या हुने गरेको कारण यतिखेर गाउँघरमा धेरैजना चिसोका बिरामीसमेत रहेको उहाँको भनाइ छ । 

जाडो छल्न तराईतिर 

यतिखेर कर्णालीका विमानस्थलमा सर्वसाधारणको घुइँचो लागेको छ । डोल्पाको जुफाल, हुम्लाको सिमीकोट, मुगुको ताल्चालगायतका विमानस्थलमा दिन प्रतिदिन चाप बड्दै गएको हो । नेपालगञ्जको हुस्सुले कर्णालीका विभिन्न विमानस्थलमा हवाई उडान प्रभावित हँुदा दिन प्रतिदिन विमानस्थलमा यात्रुको चाप बढ्दै गएको हो । उडान कम यात्रु धेरै हुने भएकाले टिकट वितरणमा समस्या हुने गरेको जुफाल विमानस्थलका कर्मचारी लंक भण्डारीले बताउनुुभयो । 

महिनाँैदेखि विमानस्थलमै थन्किएकाले हप्तौँपछि पालो आउने भन्दै कतिपय सर्वसाधारण पैदल यात्र गरेरै गन्तव्यसम्म पुग्न थालेका छन् । यतिखेर अन्य सर्वसाधारणको तुलनामा जाडो छल्न बेँसी झर्ने सर्वसाधारण धेरै आउने गरेको डोल्पाको जुफाल विमानस्थलले जनाएको छ । 

यस समयमा अत्यधिक जाडोले खपिनसक्नु हुने भएकाले अधिकांश कर्णालीवासी जाडो छल्नका लागि तराईका विभिन्न जिल्लामा झर्ने गर्दछन् । जाडो छल्नका लागि धेरैजसो नेपालगञ्ज, सुर्खेत, दाङ, काठमाडौँलगायतका शहरमा झर्ने गर्दछन् । 

अन्य शहरभन्दा काठमाडौँमा धेरै सर्वसाधारण आउने गर्दछन् । यतिखेर जाडोसँगै फुर्सद हुने भएकाले पनि विभिन्न व्यक्तिगत कामकाजदेखि लिएर राजनीतिक भेटघाटका लागिसमेत तुलनात्मकरुपमा काठमाडाँै धेरै आउने गरेको डोल्पाबाट काठमाडौँ पुगेका स्थानीय दुर्गाप्रसाद देवकोटाले भन्नुभयो । 

जाडो समयमा अत्यधिक चिसो पनि हुने र आफूले पढाउने विद्यालय पनि बन्द भएकाले छोराछोरी र आफन्त भेट्न काठमाडौँ आएको उहाँले बताउनुभयो । जाडो छल्न तराई झरेका कर्णालीवासी फागुन महिना लागेपछि मात्रै घर फर्कने गर्दछन् । 

फुर्सदमा जोहो 

बाह्रै महिना कर्णालीवासी घरायसी कामकाजमा व्यस्त हुने भए पनि हिँउदको पुस र माघमा भने फुर्सदिला बन्ने गर्दछन् । मंसिर महिनामै हिँउदे बालीका रुपमा गहुँ, जौँ, उवालगायतका अन्नबाली लगाई सक्ने र जेठ, असारमा मात्र भित्र्याएर धान, मकै लगाउने भएकाले यो दुई महिना फुर्सद हुने डोल्पा त्रिपुरासुन्दरी नगरपालिका स्थानीय नैनानन्द देवकोटाले बताउनुभयो । 

फागुन महिनादेखि खेतीपातीको काममा व्यस्त हुने भएकाले यो दुई महिनामा अन्नबाली जोहोदेखि घाँसपात, दाउरालगायतको जोहो गर्ने उहाँको भनाइ छ । हिँउदमा भारी हिमपात हुने भएकाले हिमपात भएको समयमा चिसोले घर बाहिरसमेत निस्कन नसकिने भएकाले आगो ताप्नको लागि दाउराको जोहो धेरै हुने गर्दछ । त्रिपुराकोटमा दाउरा लिन घण्टौँ हिँडेर वनमा पुग्नुपर्ने बाध्यता रहेको स्थानीय देवकोटाले बताउनुभयो । 

चिसोमा घट्ट तथा मिलमा जानमेत समस्या हुने भएकाले खाद्यान्नको संकट नहोस् भनेर पहिले नै धेरै परिमाणमा खाद्यान्न कुटानीपिसानीसमेत गर्ने गरिन्छ । 

चिसोमा पनि कर्णालीका महिला घरधन्दामै 

हिँउदे मौसम शुरु भएसँगै कर्णालीमा हुने अत्यधिक चिसोले महिलालाई भने छँुदैन । अत्यधिक चिसोमा पनि कर्णालीका महिला चुलोचौकामै व्यस्त हुने गर्दछन् । चिसो छल्न भन्दै पुरुष सबै तराईका जिल्लामा झर्ने भएकाले अधिकांश महिला घर कुरुवाको रुपमा घरमै बस्ने गर्दछन् । 

कर्णालीका जिल्लामा अझै पनि पुरुषवादी समाजको हाबी रहेकाले पुरुषले महिलाको समस्याप्रति गम्भीर देखिंदैनन् । छोराछोरीको हेरविचारदेखि घरधन्दा, खेतीपाती, वस्तुभाउको सबै काम महिलाकै काँधमा रहेको डोल्पाकी महिला नेत्री दिलमाया विष्टले गुनासा गर्नुभयो । 

बैंकको ऋणबाट जाडो छल्ने खर्च 

प्रत्येक वर्ष हिँउदे मौसम शुरु भएसँगै कर्णालीमा अत्यधिक जाडो हुने गर्दछ । जाडोयाममा तराई झर्ने खर्च स्थानीयस्तरमा स्थापित विभिन्न सहकारी, समूह तथा लघुवित्तबाट ऋण धेरै गरेका छन् । जाडो समयको शुरुवातीको रुपमा रहेको मंसिर महिनामै जाडो छल्न झर्ने खर्चको जोहोका लागि अधिकांश स्थानीय वासिन्दा बंैक धेरै धाउने गरेको रिलायबल माइक्रो फाइनाइन्स डोल्पाका कर्मचारी हेमन्त बुढाले बताउनुभयो । 

यतिखेर ऋण पनि तुलानात्मक रुपमा धेरै जाने उहाँको भनाइ छ । तराईका जिल्लामा जाने, बस्ने, खाने खर्च र जहाज भाडाको लागि दशौँ हजारौँ रुपैयाँ ऋण लिने गरेको उहाँको भनाइ छ । 

अधिकांशले यतिखेर लिएको ऋण यार्सागुम्बा टिपेर चुक्ता गर्ने गर्दछन् । कतिपयले गाउँकै साहूसँग चर्को ब्याजमा पनि ऋण लिने गर्दछन् ।

 कर्मचारी पनि फुर्सदिला 

जाडो समयमा धेरैजसो सर्वसाधारण जाडो छल्न तराई झरी सक्ने भएकाले सरकारी तथा गैरसरकारी कार्यालयमा समेत नियमित कामकाजको चाप कम हुने गर्दछ । 

अन्य महिनाको तुलनामा पुस, माघ महिनामा सेवाग्राही पनि कम आउने हुँदा कामको चाप कम हुने गरेको जिल्ला हुलाक कार्यालय डोल्पाका कर्माचारी हरि विष्टले बताउनुभयो । 

यो समयमा कर्मचारी पनि फुर्सदिला हुने गर्दछन् । यतिखेर अधिकांश सरकारी तथा गैरसरकारी कार्यालय कर्मचारीविहीन हुने गर्दछन् । कतिपय कार्यालय सहयोगीको भरमा रहेका हुन्छन् । अधिकांश कर्मचारी जाडो छल्न तथा घुमघामका लागि तराई झर्ने भएकाले यस समयमा कार्यालय कर्मचारीविहीन हुने गरेका छन् । यतिखेर डोल्पाका अधिकांश स्थानीय तहका प्रमुख उपप्रमुख पनि काठमाडौँ तिरै रहेका छन् । 

जाडोको समयमास्थानीय तहका अधिकांश जनप्रतिनिधि पनि राजधानी केन्द्रित भएपछि सेवा लिने सेवाग्राही मर्कामा परेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले जानकारी दिनुभयो । स्थानीय तहका प्रमख उपप्रमुख पालो मिलाएर झरेको भए राम्रो हुने उहाँको भनाइ छ । 

उपल्लो क्षेत्रका तल्लो क्षेत्रमा र तल्लो क्षेत्रका तराईमा 

कर्णालीका डोल्पा, जुम्ला, मुगु र हुम्लाको उपल्लो क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण चिसो बढेसँगै छ महिनाको अस्थायी बसोबासका लागि पशु चौपायसहित जाडो छल्न बेँसी झर्ने गर्दछन् । 

आर्थिकरुपमा मजबुद भएका भने काठमाडौँ, पोखरा, नेपालगञ्जलगायतका शहरमा झर्ने र आर्थिक हिसाबमा कमजोर भने जिल्लाकै तुलनात्मक रुपमा कम चिसो हुने क्षेत्रमा झर्ने गर्दछन् । 

तल्लो क्षेत्रका सर्वसाधारण भने जाडो छल्न तराईतिर झर्ने गर्दछन् । यतिखेर उपल्लो क्षेत्रका मान्छेले फुर्सदको समयको उपयोग गर्दै राडी, पाखी, झोला बनाएर बेच्ने र जिम्बु अन्नबालीसँग साटासाट गरेर आयआर्जन गर्ने गर्दछन् । 

सम्पूर्ण विद्यालय बन्द 

हिमाली जिल्ला डोल्पामा यस वर्षको शैक्षिक सत्र सकिएको छ । शैक्षिक सत्र सकिएपछि डोल्पाका १२३ वटै विद्यालय बन्द भएका छन् । डोल्पालगायतका कर्णालीका जुम्ला, हुम्ला मुगमा पनि प्रत्येक वर्ष पुसदेखि नै शैक्षिक सत्र सकिएर फागुन महिनामा नयाँ शैक्षिक सत्र शुरु हुने गर्दछ । 

सदाझैँ यस वर्ष पनि फागुनमा खुल्ने गरी ४५ दिनका लागि तल्लो डोल्पाका मावि, निमावि र प्रावि तहका १०० वटा विद्यालय बन्द भएका छन् । गत मंसिर २४ गतेदेखि पुस ३ गतेसम्म वार्षिक परीक्षा सम्पन्न भएर सम्पूर्ण विद्यालय बन्द भएका हुन् । 

डोल्पा हिमाली जिल्ला भएकाले मंसिरदेखि नै अत्यधिक चिसो बड्ने हुँदा जाडो बिदाका लागि पुस १५ देखि फागुनसम्मको ४५ दिनसम्मको अवधिका जिल्लाका सम्पूर्ण विद्यालय बन्द हुने जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ । 

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय भने छ महिना लागि बन्द भएका छन् । 

उपल्लो डोल्पाका २३ वटा विद्यालय प्नि कात्तिक अन्तिम साताभित्रै वार्षिक परीक्षा सम्पन्न गरेर बन्द भएको जिल्ला शिक्षा कार्यालय डोल्पाका शाखा अधिकृत सिंहराज डाँगीले जानकारी दिनुभयो । 

उपल्लो डोल्पामा पनि कात्तिक महिनादेखि नै भारी हिमपात शुरु भई अत्यधिक चिसो बड्ने भएकाले कात्तिक महिनाको अन्तिम सातादेखि नै सम्पूर्ण विद्यालय बन्द हुने गर्दछन् । 

कात्तिकमा बढेको चिसो वैशाख महिना लागेपछि मात्रै हट्ने भएकाले वैशाखमा खुल्ने गरी छ महिनाका लागि उपल्लो डोल्पाका विद्यालय बन्द हुने गर्दछन् ।  रासस

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!