फागुन १६ बाट प्रथम ऐतिहासिक बकैया साँस्कृतिक महोत्सव हुने

Posted on: 18 Jan, 2018

माघ ४, हेटौँडा । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम ऐतिहासिक बकैया साँस्कृतिक महोत्सव २०७४  हुने भएको छ । 

आज हेटौँडामा महोत्सव आयोजक बुद्ध युवा क्लब हात्तिसुडेले पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै बुद्ध युवा क्लबका अध्यक्ष विजय लामा थिङले महोत्सव फागुन १६ गतेबाट २७ गतेसम्म हुने जानकारी दिए । पत्रकार सम्मेलनमा उनले कला, सस्कृति, कृषि, पर्यटन, ब्यापार तथा खेलकुद प्रर्वद्धनको लागि महोत्सवको अयोजना गर्न लागिएको बताए ।

बकैया गाउँपालिका वडा नंबर ३ को बकैया नदि तिर हात्तिसुडेमा हुने महोत्सवमा  खुल्ला बकैया सिङ्गीङ स्टार तथा डान्स आईडल, खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता, खुल्ला पूरुष तथा महिला भलिबल प्रतियोगिता, ढेडो खाने प्रतियोगिता, माछा मार्ने प्रतियोगिता, भाले छुने प्रतियोगिता, खुल्ला दौड प्रतियोगिता, खुल्ला लोक दोहोरी प्रतियोगिता, आमा समुह स्तरीय रत्यौली प्रतियोगिता हुने उनले बताए ।

२ सय वटा स्टल रहने महोत्सवमा अत्याधिक सस्तो बजार, कृषी तथा पर्यटनका स्टल, उद्योग तथा प्रविधिको विषयमा जानकारी लगाएतको विभिन्न स्टलहरु रहेन छन् । मकवानपुर जिल्लाको झण्डै आधा जनसंख्या रहेको पुर्वी मकवानपुरको क्षेत्रहरुलाई महोत्सवले प्रर्बद्धन गर्ने उनको भनाई रहेको छ ।

महोत्सवलाई अझ भब्य बनाउनको लागि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने आयोजकको भनाई रहेको छ । कार्यक्रममा हामीले पत्रकारिता जगतबाट बकैयाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पत्रकारलाई प्रथम बकैया पत्रकारिता पुरस्कारबाट सम्मानित  गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

महोत्सवको लागि करिब ५७ लाख खर्च हुने अयोजकले जानकारी दिएको छ । 

महोत्सवमा करिब एक लाखले अवलोकन गर्ने लक्ष्य राखिएको लामाले बताए । महोत्सवमा छिमेकी गाउँपालिका बागमती, मकवानपुरगढी, हेटौँडा उपमहानगरपालिका, छिमेकी जिल्लाहरु बारा, रौतहट, सिन्धुली, काभ्रे, ललितपुर, काठमाण्डौँ, सर्लाही लगाएतको क्षेत्रबाट अवलोकनको लागि आउने समेत उनको भनाई रहेको छ ।

महोत्सवको लागि बकैया गाउँपालिकाले पनि महत्वपूर्ण सहयोग गर्न बचन दिएको अध्यक्ष लामाले बताए । बकैयाको सानको रुपमा गर्न लागिएको कार्यक्रमलाई सफल बनाउनको लागि उनले जिल्लाका सबै निकायहरुलाई आग्रह पनि गरेका छन् ।  आयोजक बुद्ध युवा क्लबले यस अघि पनि सप्ताह कार्यक्रमको अयोजना गरि स्थानीय तहमा एम्बुलेन्स समेत सञ्चालन गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!