सुतिरहेको अवस्थामा ३३ वर्षीय युवक मृत भेटिए, घटना रहस्यमयी

Posted on: 19 Jan, 2018

माघ ५, चितवन । चितवनको भरतपुर महानगरपालिका–१३ स्थित उजेलीनगरमा गएराति सुतिरहेको अवस्थामा एक व्यक्ति मृत फेला परेका छन् । 

गएराति ८ बजे लक्ष्मण महतोका ३३ वर्षीया छोरा किरण महतो आफ्नो घरको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

खाटमा सुतिरहेका उनलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरिएको परिवारको भनाइ उद्धृत गर्दै चितवन प्रहरीले जनाएको छ । राति घटना भएकाले रातभर प्रहरी घटनास्थलमै बसेको र अहिले बिहान मुचुल्का उठाउन टोली पठाइएको छ । उनको घाँटीमा डामजस्तो देखिएको जनाइएको छ । मृत्युको कारण भने खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

पसलमा आगलागी 

यता पूर्वी चितवनको खैरहनी नगरपालिका–९ सिमलटाँडी चोकबाट १०० मिटर उत्तरतर्फ ईश्वर विश्वकर्माको सुनचाँदी पसलमा आज बिहान आगलागी भएको छ । 

विद्युत् चुहिएर एक्कासि आगो लाग्दा रु तीन लाख ५० हजार क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । आज बिहान १ः३० बजे आगलागी भएको हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!