महोत्तरीमा न्यानो लुगाफाटाको अभावमा वृद्धाको मृत्यु

Posted on: 19 Jan, 2018

माघ ४, गौशाला | महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–९ मा बिहीबार न्यानो लुगाफाटाको अभावमा एक वृद्धाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बर्दिवास नगरपालिका–९, पशुपतिनगर बस्ने ६० वर्षीया रामपरी देवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्लामा विगत एक महिनादेखि जारी शीतलहरको बेला अतिगरिब परिवारका वृद्धा रामपरीको न्यानो ओढ्ने ओछ्याउने लुगाफाटाको अभावमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

वृद्धा रामपरी देवी आफ्नै घरमा सुतिरहेका बेला बिहीबार अत्यधिक जाडो हुँदा पर्याप्त न्यानो ओढ्ने ओछ्याउने नपाएपछि कठ्यांग्रिएर ज्यान गुमाएकी हुन् । 

बाढी तथा शीतलहर पीडितलाई राहत वितरण 

यसैबीच, गत साउन महिनामा आएको भीषण बाढीबाट महोत्तरी जिल्लामा घरवारविहीन भएका दुई हजार ५१६ परिवारलाई रु २५ हजारका दरले राहत उपलब्ध गराइने भएको छ । 

बाढीले घरवारविहीन बनाएका बेला विगत एक महिनादेखि अविरल शीतलहरका कारण झन्झन् बढी प्रभावित बनाएका बाढीपीडितलाई नेपाल सरकारले रु २५ हजारका दरले राहत उपलब्ध गराउने भएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले महोत्तरीका २,५१६ बाढीपीडित परिवारलाई नेपाल सरकारले शीतलहर पीडितको पहिलो सूचीमा राखेर उनीहरुका लागि प्रतिपरिवार रु २५ हजारका दरले राहत पठाएको बताउनुभयो । 

उहाँले ती राहतमध्ये बाढी तथा शीतलहर पीडित परिवारले रु १० हजार न्यानो कार्यक्रमबाट र रु १५ हजार घर मर्मतका लागि गरी जम्मा रु २५ हजार तुरुन्त पाउने भएको बताउनुभयो । 

प्रजिअ श्रेष्ठले ती सबै रकम पीडितले आ–आफ्ना स्थानीय तह (गाउँ÷नगरपालिका) बाट पाउने समेत बताउनुभयो । त्यसका लागि जिल्ला प्रशासन कार्यालयले ती सबै रकम महोत्तरीको १० नगरपालिका र ५ गाउँपालिका गरी १५ वटै स्थानीय तहमा पठाउने तयारी गरिरहेको बताउनुभयो । 

महोत्तरीमा बाढी तथा शीतलहर पीडित २,५१६ परिवारका लागि नेपाल सरकारले जम्मा रु छ करोड ९० लाख पठाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!