विदेश पठाइदिने भन्दै करोडौं ठगी गर्ने नुवाकोटका एक व्यक्ति पक्राउ

Posted on: 19 Jan, 2018

माघ ५, काठमाडौं । जापान, अमेरिका, पोर्चुगल, सिंगापुर लगायतका देशहरुमा पठाइदिने भन्दै कराडौं रुपैयाँ ठगी पर्ने व्यक्ति पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा नुवाकोट घर भइ हाल ललितपुरको तिखेदेवलमा बस्दै आएका ३९ वर्षीय पारस लोहोनी छन् । पीडितहरुको उजुरीको आधारमा उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो । 


उनले विभिन्न देशमा आकर्षक सेवा सुविधासहितको रोजगारी दिने भन्दै विभिन्न व्यक्तिसँग करोडौं रकम ठगी गरेका थिए । प्रहरीका अनुसार उनले प्रतिव्यक्ति ७ लाख रुपैयाँदेखि ३५ लाख रुपैयाँसम्म लिएर २ करोड ७५ लाख रुपैयाँ ठगी गरेकाे खुलेकाे छ । 

पीडितहरुसँग पैसा लिएपछि लोहोनी सम्पर्कबिहीन हुने गरेका थिए । उनीबिरुद्ध वैदेशिक रोजगारी विभाग, बुद्धनगरमा समेत वैदेशिक रोजगारी ठगी सम्बन्धि मुद्दा अनुसन्धानको क्रममा रहेको बताइएको छ ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि शुक्रबार महानगरीय प्रहरी परिसरमा बुझाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!