कर्णको ह्याट्रिकमा धनकुटा विजयी

Posted on: 27 Apr, 2016

karna news

प्रकाश धौलाकोटी । बैशाख १४, तेह्रथुम । तेह्रथुमको बसन्तपुरमा जारी दोस्रो लालीगुराँस गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा बेलबारी फुटबल क्लब मोरङलाई ३–० ले पराजित गर्दै सिंहदेवी युवा क्लब, सिधुवा धनकुटा सेमीफाइनलमा उक्लिएको छ ।

बसन्तपुरस्थित मैदानमा भइरहेको प्रतियोगिता अन्तर्गत आज भएको अन्तिम क्वाटर फाइनलमा जर्सी नं.का १० खेलाडी कर्ण लिम्बुको ह्याट्रिकमा धनकुटाले सेमीफाइनल यात्रा तय गरेको हो । कर्णले खेलको ३४ औँ, ५७ औँ र ७१ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै धनकुटालाई अग्रता दिलाएका हुन् । प्रतियोगिता अन्तर्गत जनजागृति युवा क्लब, धनकुटा, दोर्जे गियर प्रालि काठमाडौँ र टिडब्लुवाईसी क्लब विराटनगर यसअघि नै सेमीफाइनलमा प्रवेश गरिसकेका छन् ।

अब सेमीफाइनलतर्फका खेलमा भोलि जनजागृति युवा क्लब हिले धनकुटा र टिडब्लुवाईसी विराटनगर तथा दोर्जे गियर प्रालि काठमाडौँ र सिंहदेवी युवा क्लब सिधुवा धनकुटाबीच खेल हुने आयोजक पाथीभरा युवा सामुदायिक क्लबले जनाएको छ । प्रतियोगिताको फाइनल खेल भने बैशाख १७ गतेमात्र हुनेछ ।

गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेसहित यहाँका पर्यटकीय क्षेत्रको प्रवर्धनकालागि आयोजित प्रतियोगितामा काठमाडौँसहित पुर्वान्चलका आठ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!