दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

Posted on: 21 Jan, 2018

माघ ७, इलाम | जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्न ट्याक्टरमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्न थालेको छ । 

हुस्सु र कुहिरोका कारण राजमार्गमा सवारी साधन एकआपसमा नदेखिएर एक्कासि ठोक्किने स्थिति आउन नदिन ट्राफिकले ट्याक्टरमा रिफ्लेक्टर स्टिकर टाँस्न थालेको हो । ट्राफिकले एक साताको बीचमा तीनसय भन्दा बढी ट्याक्टरमा रिफ्लेक्टर टाँसिसकेको ट्राफिक इञ्चार्ज पदमबहादुर राईले जानकारी दिनुभयो । 

ट्राफिक प्रहरीका अनुसार चिसो मौसममा हुने अधिकांश दुर्घटना ट्याक्टरकै कारण हुने गरेकाले यस्तो अभियान सञ्चालन गरिएको हो । जाडो मौसममा मेचीराजमार्गको सूर्योदयन नगरपालिका र इलाम नगरपालिका क्षेत्रमा बढी हुस्सु लाग्ने हुँदा आवत जावत हुने सवारी साधन नदेखिएर सवारी दुर्घटना हुने गरेकाले ट्याक्टरको अघिपछि नै रिफ्लेक्टर स्टिकर टाँसिएको ट्राफिक प्रहरीले जनाएको छ । 

यसअघि पनि ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत ट्याक्टरबाट हुफर हटाउने, राजमार्गका विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गर्ने, विद्यार्थीमार्फत सचेतना, सवारी चालकलाई ट्राफिक नियम सम्बन्धी जानकारीजस्ता कार्य गरिएको इञ्चार्ज राईले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!