बैतडीबासीलाई आयो खुशीको खबर !

Posted on: 21 Jan, 2018

विनोदसिंह विष्ट/माघ ७, बैतडी । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा इसिजी र भिडियो एक्सरे सेवा सञ्चालनमा आएको छ । 

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बीमा) ले पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई इसिजी र भिडियो एक्सरे यन्त्र उपलब्ध गराएपछि उक्त सेवा सञ्चालनमा आएको हो । 

ती सेवा पाटनमै सञ्चालनमा आएपछि बिरामीले बाहिर गएर उपचार गर्नुपर्ने समस्या हटेको केन्द्रका डा नवीन्द्र ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “इसिजी र भिडियो एक्सरेकै लागि भारतीय बजार तथा जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।” 

स्वास्थ्य बीमा कार्यक्रमले जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई उपचार सेवा दिने अस्पतालमा सूचीकृत गरेको छ । 

स्वास्थ्य बीमाअन्तर्गत इसिजी, भिडियो एक्सरे र एक्सरे सेवा राखिएको छ । बैतडीमा विसं २०७३ पुस ७ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो । 

औषधि अभाव 

पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि अभाव हुँदा बिरामीलाई रित्तो हात फर्काउनुपरेको स्वास्थ्यकर्मीले बताएका छन् । उपचारका लागि आएका बिरामीलाई पर्याप्त मात्रामा औषधि नभएकाले जाँच गरेर औषधि पसलमा पठाउनुपर्ने समस्या भएको स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट लोकेन्द्र ऐरले बताउनुभयो । 

“दैनिक आउने ३०–४० बिरामीलाई औषधि नहुँदा समस्या भएको छ” उहाँले भन्नुभयो, “स्वास्थ्य केन्द्रमा आउने बिरामीलाई रित्तो हात फर्काउनुपर्छ र औषधि अभाव छ भन्दा उल्टै रिसाउने गरेका छन् । ” स्वास्थ्य केन्द्रबाट निःशुल्क रुपमा स्वास्थ्य सेवा हुने भनिए पनि औषधि नहुँदा सेवाग्राही मर्कामा परेका छन् । 

पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा भर्खरै गठन भएको स्वास्थ्य व्यवस्थापन समितिले पाटन नगरपालिकासँग औषधि अभावबारे जानकारी गराएकाले बोलपत्र आह्वान भएको र अब छिट्टै औषधि आउने बताइएको छ । 

पहिला औषधि अभाव भएका बारे जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी गराउँदा समयमै औषधि आपूर्ति हुने भए पनि हाल स्थानीय तह भइसकेपछि समस्या भएको स्वास्थ्य संस्थाले जनाएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!