चितवन उद्योग संघको २० बुँदे नीति तथा कार्ययोजना तर्जुमा

Posted on: 21 Jan, 2018

माघ ७, चितवन | चितवन र नवलपुरका उद्योगीको छाता संगठन चितवन उद्योग संघले २० बुँदे नीति तथा कार्ययोजना तर्जुमा गरेको छ । 

कसरामा दुई दिनसम्म चलेको नीति तथा कार्ययोजना तर्जुमा गोष्ठीले महत्वपूर्ण कार्ययोजनाको रुपमा निर्माणधिन चितवन प्रदर्शनी केन्द्र, शक्तिखोर औद्योगिक क्षेत्र र औद्योगिक प्राविधिक शिक्षालय स्थापनालाई प्राथमिकतामा राखेको छ । 

दुईवर्षे कार्यकालमा चितवन प्रदर्शनी केन्द्र पूर्णरुपमा निर्माण गरी सञ्चालनमा ल्याउने, शक्तिखोर औद्योगिक क्षेत्र र औद्योगिक प्राविधिक शिक्षालय निर्माण गर्ने कार्ययोजना बनाइएको संघका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिनुभयो । 

“दुई वर्षे कार्यकालमा धेरै काम गर्नुपर्ने छ, मुख्य कार्यक्रमका रुपमा प्रदर्शनी केन्द्र, औद्योगिक क्षेत्र र प्राविधिक शिक्षालयलाई अघि बढाएका छौं”–अध्यक्ष दुवाडीले भन्नुभयो । 

भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघकै परिसरमा अहिले चितवन प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ भने शक्तिखोर औद्योगिक क्षेत्रको डिपिआरको तयारी अन्तिमचरणमा पुगेको छ । 

यस्तै जिल्लाको जुगेडीस्थित जुरेथुम्कामा संघको स्वामित्वमा रहेको पाँचबिघा जमिनमा औद्योगिक प्राविधिक शिक्षालय स्थापना गर्न गुरुयोजना बनाउने गरी काम अघि बढाइने संघका अध्यक्ष दुवाडीले जानकारी दिनुभयो । 

यसैगरी संघले विगतका वर्षमा गर्दै आइरहेको राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई यस वर्ष पनि निरन्तरता दिइने भएको छ । प्रत्येक दुई÷दुई वर्षमा गर्दै आइरहेको प्रदर्शनी यसवर्ष आउँदो चैत महिनाको दोस्रो सातादेखि गर्ने तय भएको संघका उपाध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनुभयो । 

चितवन उद्योग संघले औद्योगिक सूचना केन्द्रको स्थापना, कर्मचारीलाई दक्ष बनाउन तालीम आयोजना जस्ता अन्य थुप्रै कार्ययोजना तयार पारेको छ । संघले औद्योग व्यवसायीसँग सम्बन्धित औद्योगिक नीति बनाउन संघको प्रतिनिधि पठाउने समेत निर्णय गरेको छ ।  (रासस)

। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!