उदयपुरमा आगलागी पीडितलाई राहत वितरण

Posted on: 22 Jan, 2018

माघ ८, उदयपुर | माघ १ गते आगलागीमा परेका उदयपुर जिल्लाको रौतामाई–२ का पाँचघरका बिचल्ली परिवारलाई एक हप्तापछि आइतबार राहत वितरण गरिएको छ । 

माघ १ गते दिउँसो चिसोको कारण स्थानीय बालबालिकाले आगो बालेर ताप्ने, खेलाउने क्रममा स्थानीय पाँचघर आगलागी भई आगालागीबाट घर गुमाएका २४ जना परिवारलाई आइतबार जिल्ला रेडक्रसका प्र्रतिनिधिसहित रौतामाई गाउँपालिकाका जनप्रतिनिधिको उपस्थितिमा केही राहत वितरण गरिएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताउनुभएको छ । 

प्रतिघर परिवारलाई एक–एक बोरा चामल तथा भाँडाकुडा, लत्ताकपडा र ओढ्ने ओछ्याउने कपडा पीडित बसेको स्थानमा गएर वितरण गरिएको हो । 

यस्तै, नगद रुपैयाँ प्रतिपरिवार तीन हजारका दरले समेत वितरण गरिएको रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष खवीन्द्र रासकोटीले बताउनुभयो । राहत प्राप्त गर्ने अग्नि पीडित परिवारमा कर्णबहादुर विक, रणबहादुर विक, मेघबहादुर विक, चक्रबहादुर विक र सम्झना विक घरमूली रहेका छन् ।

यता पीडित परिवारले भने तत्काल आफूहरूसँग बस्ने घर नभएको, घर निर्माण गर्ने रकमको अभाव भएको र छोराछोरीहरलाई विद्यालय पठाउने खर्च तथा अन्य खाने अन्नपानी समेत नभएको गुनासो गरेका छन् । खरको छानोको घर आगलागी भएपछि पीडित नजिकैका गाईगोठ वस्तु गोठमा अस्थायी रूपमा बस्दै आएका छन् । पीडितको घर निर्माण गर्न र उनीहरूको नानीको पठनपाठनको समस्या समाधान गर्न आफूले आर्थिक सहयोग जुटाउन पहल गर्ने रौतामाई गाउँपालिकाका अध्यक्ष खड्काले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!