रौतहट जयनगरमा फर्निचर मेला

Posted on: 23 Jan, 2018

माघ ९, रौतहट | गौर चन्द्रनिगाहपुर सडकखण्डको मध्यभाग जयनगर चोकमा फर्निचर मेला शुरु भएको छ । 

नेपाल विश्वकर्मा लोहार संघ जयनगरको आयोजनामा श्रीपञ्चमीको अवसरमा एक महिने फर्निचर मेला शुरु भएको हो । मेलामा एकसय भन्दा बढी लोहार समुदायका मिस्त्रीले फर्निचर पसलको कक्ष राखेका छन् । 

बारा, रौतहट, सर्लाही र सीमावर्ती भारतीय गाउँबाट आएका मिस्त्रीले केही सामग्री मेलास्थलमै निर्माण गर्दछन् भने केही घरबाट निर्माण गरेर ल्याउने गरेका छन् । फर्निचर मेलामा काठका कुर्सी, टेबुल, दराज, बेन्च र खाट बिक्री भइरहेको मेला समितिका उपाध्यक्ष योगेन्द्र ठाकुर लोहारले बताउनुभयो । 

त्यसैगरी फलामको बञ्चरो, खुकुरी, चुपी, खुर्पी, हँसियालगायत विभिन्न औजार ग्राहकको अगाडी नै तयार गरेर बिक्री भइरहेको उहाँले बताउनुभयो । श्रीपञ्चमीदेखि शुरु भई अगामी शिवरात्रीसम्म लाग्ने सो मेलामा सोमबार रु २० लाखभन्दा बढीको कारोबार भएको लोहारले बताउनुभयो । 

गतवर्ष करिब रु चार करोडको कारोबार भएको उपाध्यक्ष ठाकुरले बताउनुभयो । यस पटक फर्निचर मेलामा रु पाँच करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । सदरमुकाम गौरबाट करिब २२ किलोमिटर उतरमा सो मेला आयोजना गरिएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!