नेपाली खानेतेल उद्योग संकटमा

Posted on: 23 Jan, 2018

माघ ९ , मोरङ | मोरङ–सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन् । 

पाम आयल मिसाइएको तेल बजारमा बिक्री गर्दै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन् । भारतीय बजार जोगवनीबाट आउने नक्कली तेलसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि अर्को कारण हो । 

मोरङका तेल उद्योगी श्रवण अग्रवालका अनुसार यो कोरिडोरमा दुई दर्जन तेल उद्योग बन्द भइसकेका छन् । अहिले सञ्चालन भइरहेका तेल उद्योग पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् । 

अहिले पाँचवटा तेल उद्योगमात्र सुनसरी –मोरङ औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित छन् । भारतीय बजारमा चोरी पैठारी भएर नेपाल भित्रिने टिनको तेलले नेपालमा उत्पादित तोरीको तेललाई संकटग्रस्त बनाउँदै गएको अग्रवालको भनाइ छ । टिनको तेल पूर्णरुपमा मिसावटयुक्त हुनाले यहाँ उत्पादन भएका तेलभन्दा प्रतिलिटर झण्डै रु ५० सस्तो पर्छ । 

चोरी पैठारी भएर आउने भारतीय तेलले एकातिर नेपालका तेल उद्योगलाई संकटमा पार्दैछ भने अर्कोतर्फ उपभोक्ताको स्वास्थ्यमा समेत असर पु¥याउने गरेको छ । तेल उद्योगका सञ्चालक देवकीनन्दन अग्रवालका अनुसार सीमावर्ती बजारबाट नेपालका विभिन्न स्थानसम्म पुग्ने पाम आयल मिसाइएको अशुद्ध तेल नियन्त्रण गर्न सरोकारवाला कसैले चासो दिएका छैनन् । 

नेपालले भारतको हरियाणा, राजस्थान, युक्रेन, रुस र अष्टेलियाबाट तोरी आयात गर्दै आएको छ । नेपालमा तोरीको उत्पादन हुन छोडेपछि तेस्रो मुलुकबाट तोरी आयात गर्नु परेको हो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!