पर्वतलाई पुर्ण साक्षर जिल्ला घोषणा गर्न अन्तिम तयारी

Posted on: 24 Jan, 2018

पर्वत । पर्वत जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्र्न जिल्ला शिक्षा कार्यालय अन्तिम तयारीमा जुटेको छ । जिल्लाका ६१ वडा मध्ये ५७ वडा पूर्वसाक्षर घोषणा भैसकेका छन् । यहि माघको १८ गते जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारीमा जुटेको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिए ।

साक्षर जिल्ला घोषणा गर्न साक्षरताको सुचक ९५ प्रतिशत भए पुग्ने भएपनि जिल्ला शिक्षा कार्यालयले गरेको मुल्याङकनमा ९६ दशमलव ६३ प्रतिशत प्रगति रहेको देखिएको छ । १५ वर्षदेखि ६० वर्ष उमेर समुहका व्याक्तिहरुले पढ्न र लेख्न सक्ने, हस्ताक्षर गर्न सक्ने, साईनवोर्ड पढ्न सक्ने जस्ता सुचकहरु पुरा भएमा साक्षर घोषणा गर्ने मापदण्ड रहेको छ ।  पर्वतमा ७८ हजार २ सय ३७ जना साक्षर रहेका छन । पर्वतमा १५ देखि ६० बर्ष उमेर समुहको जनसंख्या ८० हजार ६ सय ८४ हुन्छ ।

जिल्लाको  १५ देखि ६० बर्ष समुहको कुल जनसंख्या ८० हजार ६ सय ८४ मध्ये ७८ हजार २ सय १० जना साक्षर भएको जिल्ला शिक्षा कार्यालय पर्वतको तथ्याङ्कले देखाएको छ ।

जसअनुसार ३२ हजार ३ सय ३६ पुरुषमध्ये ३१ हजार ५ सय पुरुष र ४८ हजार ३ सय ४८ महिलामध्ये ४६ हजार ७ सय १० महिला साक्षर भएको तथ्याङकमा उल्लेख छ । तथ्याङकका अनुसार जिल्लामा अझै पनि २ हजार ४ सय ७४ जना निरक्षर रहेको देखिएको छ ।

साक्षर जिल्ला घोषणा गर्नको लागि ९५ प्रतिशत पुरा भए हुने भएका कारण पनि जिल्लामा २ हजारभन्दा बढी निरक्षर हुदाहुदै पनि साक्षर जिल्ला घोषणा गर्न लागिएको हो ।  प्रदेश ४ का ११ जिल्लामध्ये पर्वत जिल्ला मात्रै पूर्ण साक्षर जिल्ला घोेषणा हुन बाँकी छ ।

माघ १८भित्र अन्य जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा नभए पर्वत जिल्ला ४२ औ पूर्ण साक्षर जिल्ला घोषणा हुनेछ । जेठ महिनाभित्रै जिल्लालाई पुर्ण साक्षर जिल्ला घोषणा गर्ने भनिएता पनि  विभिन्न कारणले गर्दा हुन नसकेको जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ । 

पुर्ण साक्षर जिल्ला घोषणा गर्नको लागि आवश्यक कामहरु भैराखेको शिक्षा कार्यालयले जनाएको छ । सो दिनको तयारीको लागि १० समुहमा विभाजन गरी कामको जिम्मेवारी बाँडफाँड समेत भएको छ । पूर्ण साक्षर वडा घोषणा नभएकाहरुलाई धमाधम घोषणा गरिदैछ । आज मोदी गाउँपालिकाका ४ वडा एकैसाथ पूर्ण साक्षर घोषणा हुदैछ । यो सँगै जिल्लाका ६१ वडा पूर्ण साक्षर वडा घोषित हुनेछन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!