विराटनगरमा व्यापारीद्वारा प्रदर्शन–तरकारी बजार बन्द

Posted on: 25 Jan, 2018

माघ ११,  विराटनगर | तरकारी व्यापारी पशुपति भगतमाथि भएको सांघातिक आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्दै तरकारी तथा फलफूल व्यवसायीले आज यहाँ प्रदर्शन गरेका छन् । 

विराटनगरस्थित गुद्री बजारमा उनीहरुले बिहानैदेखि प्रदर्शन गर्दै तरकारी तथा फलफूल व्यवसाय कारोबार ठप्प गरेका हुन् । 

यसअघि व्यापारी भगतमाथि आक्रमण गरी घाइते बनाउनेलाई कारबाहीको माग गर्दै सब्जीमण्डी तथा गुद्री बजार व्यवस्थापन समितिको अगुवाइमा स्थानीय गुद्री बजारबाट निस्केको विरोध र्याली नगर परिक्रमा गरेका थिए । 

नगर परिक्रमा पछि समितिका सचिव शाहाव अहमद गुड्डु र अध्यक्ष कुशहरि शर्मा भट्टराईको नेतृत्वमा गएको एक टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएको जनाएका छन् । 

समितिका सल्लाहकारसमेत रहनुभएका भगतमाथि यही माघ ५ गते शुक्रबार सांघातिक आक्रमण भएको थियो । 

सो घटनामा संलग्न भएको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!