रामको धनु खसेको धनुषाधाममा मकर मेला

Posted on: 28 Jan, 2018

अजयकुमार साह / माघ १४, धनुषा | धनुषा जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ महिनाको प्रत्येक आइतबार लाग्ने मकर मेलाको आज दोस्रो आइतबार मेला भर्न श्रद्धालुभक्तजनको भीड लागेको छ । 

माघको प्रत्येक आइतबार यहाँ मकर मेला लाग्छ । श्रद्धालु भक्तजनले धनुष मन्दिरमा दर्शनपूजा गरेका छन् । ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्वको धनुषाधाम मकर मेला भर्न आउने श्रद्धालुभक्तजनको संख्या प्रत्येक वर्ष बढ्दै गएको अनुमान गरिन्छ । मिथिला महात्म्यका अनुसार पाँच मकर स्नान गरेर धनुषको दर्शन गरेपछि एक सय रामेश्वरको दर्शन गरेसरह हुन्छ । परम्परागत हिसाबले पनि वर्षभरी गरिएको आकलभाकल माघभरि चढाउने गरिन्छ । 

त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वंयबरमा श्रीरामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती छ । 

‘विष्णु पुराण’का अनुसार त्रिपुरासुर संग्राम भएपछि दधिचि मुनिको हाडबाट बनेको धनुष धनुषशंकर परशुरामलाई दिइएको थियो । परशुरामले उक्त धनुष राजा जनकलाई दिएका थिए । रामले उक्त धनुषमा वाण चलाउदा तीन टुक्रा भएको थियो । एक टुक्रा आकाश हुँदै भारतको दक्षिण प्रान्त रामेश्वर, दोस्रो टुक्रा पाताल र तेस्रो जनकपुरको धनुष क्षेत्रमा छन् । धनु खसेको जनकपुरको पोखरी धनुषसागरले चिनिन्छ । मध्यभाग आएर खसेको ठाउँ धनुषाधाम रहेको मन्दिरका महन्थ भरत दासले बताउनुभयो । 

धनुषधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ । उक्त रुख पाँच सय वर्ष पुरानो रहेको विश्वास गरिन्छ । पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ । अमावश्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रंगिने जनविश्वास छ । 

धनुषको मध्यटुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माणपछि माघमा मकर मेला लाग्ने गरेको छ । भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्छन् । जनकपुरदेखि करिब १९ किमी उत्तरपूर्वमा रहेको धनुषाधाममा धनुषको पूजार्चना गर्न वर्षेनी लाखौँंको संख्यामा स्वदेशी तथा विदेशी विशेषगरी भारतीय पर्यटक आउँछन् । यहाँ अमेरिका, थाइल्याण्ड, सिंगापुरलगायत अन्य देशबाट पनि पर्यटक आउँछन् । वर्षेनी धनुषको आकार बढ्दै गएको मन्दिरका महन्थ दासले बताउनुभयो । 

यहाँ मंसिरमा रामजानकी विवाहपञ्चमी महोत्सव, फागुनमा मध्यमा परिक्रमा र चैतमा रामनवमीका दिन मेला लाग्छ । स्थानीय उमाविअन्तर्गत मेला रहेकाले हरेक वर्ष मेला ठेक्का लाग्ने गरेको छ । 

मेला व्यवस्थापनका लागि विद्यालयले प्रधानाध्यापकको संयोजकत्वमा मेला समिति गठन गरेको छ । गत वर्षको तुलनामा यस वर्ष ५० लाख श्रद्धालुभक्तजन धनुष मन्दिरमा दर्शनपूजा गर्न आउने धनुष मेला सेवा समितिका सदस्य हेमनारायण साहले जिकिर गर्नुभयो । 

मेलामा धनुषाधाममा करोडाँैको तेजपात, फलामको सामग्री र फलफूल बिक्री हुने गरेको धनुषाधाम वडा नं २ का श्रीनारायण साहले बताउनुभयो । 

आमाछोरीको मिलन 

मकर मेला केही वर्षयता आमाछोरीको मिलनस्थलका रुपमा समेत विकसित हुँदैछ । विवाहपछि पतिको घर गएकी छोरी लामो समयसम्म माइती आउने साइत नजुरेपछि एकार्काको खबर लिन मकर मेलामा आई भलाकुसारी गर्ने धनुषा गोविन्दपुर–६ का सतीशलाल कर्ण बताउनुहुन्छ । मेलाभर करिब पाँच हजार आमाछोरीको मिलन हुने र मेला भर्न आउने युवकयुवतीबीच प्रेम भएपछि त्यहीँ धनुषलाई साक्षी राखी विवाह गर्ने परम्परा रहिआएको मन्दिरका महन्थ दासको भनाइ छ । शरीरमा मुसा पलाउँदा भन्टा चढाउनेको संख्या पनि बाक्लो हुन्छ । 

सरकारले पर्यटनस्थलका रुपमा विकास गर्न सहयोग गर्नुपर्ने दासको भनाइ छ । धनुष मन्दिरका नाउँमा आफ्नो कुनै सम्पत्ति छैन । अहिले मन्दिर जानकी मन्दिरको स्वामित्वमा छ । दास भन्नुहुन्छ“नेपालमा म नै यस्तो पुजारी हुँला जो दुई पुस्तादेखि ६० वर्षसम्म विनातलब भगवान्को सेवा गर्दै आएको छ । म आफँैले यो मन्दिरको घण्टी समातेको २८ वर्ष भइसक्यो । बयालीस सालदेखि मैले पूजा गरिरहेको छु, मेरो बुबा रामदेव दासले पनि ३२ वर्ष जति पूजा गर्नुभयो ।” 

मन्दिर विद्युत्भार कटौतीका कारण राति अँध्यारो रहन्छ । एउटा ल्याम्प जलाइएको हुन्छ । पर्यटकको भीड खासगरी पुस महिनादेखि बढ्न थालेपछि ग्यासलाइट बालिन्छ । पुजारीका अनुसार पहिले उहाँको मात्र आश्रम र राम मन्दिर थियो । प्रहरी दिनमा काम गर्थे र राति गइहाल्थे । यातायातको असुविधा, राति बस्नका लागि सुविधासम्पन्न होटेलको अभाव आदि कारणले गर्दा पर्यटक आएर पनि टिक्ने नगरेको पुजारीले बताउनुभयो । 

यहाँ बस्नका लागि पटनाका ताराचन्दले बनाएको ३४ कोठाको धर्मशाला त छ तर अव्यवस्थित रहेका कारण पर्यटक बास बस्दैनन् । धनुषाधामलाई पर्यटकस्थलका रुपमा विकास गर्न सरकारले विशेष पहल गर्नुपर्ने धनुषावासी माग गर्छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!