चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा पर्यटन सूचना केन्द्र स्थापना

Posted on: 29 Jan, 2018

माघ १५, चितवन । पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । 

भरतपुर महानगरपालिका–२२ स्थित साबिक पटिहानी गाविसमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको केन्द्रका संयोजक कुमार थपलियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार भरतपुर महानगरपालिकाको करिब रु सात लाखको लागतमा सूचना केन्द्र स्थापना भएकाले अब यहाँ आउने पर्यटकले पर्यटन क्षेत्रका गतिविधिबारे आवश्यक जानकारी लिन सक्नेछन् । 

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले सूचना केन्द्रले पर्यटन विकासमा सहयोग पु¥याउने भन्दै यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्ने योजना महानगरको रहेको बताउनुभयो । भरतपुर–२२ का अध्यक्ष विष्णुराज महत्तोले पटिहानी आकर्षक पर्यटकीय क्षेत्र भएको उल्लेख गर्नुभयो । 

हालै मात्र चितवनको पर्यटकीय नगरी सौराहालाई जोड्ने गरी यहाँ जिप सफारीसमेत शुरु भएको छ । स्थानीय थारूको मौलिक संस्कृतिका साथै यहाँ आकर्षक र मनोरम क्षेत्र छितामाई रहेको छ । 

बाघ, गैँडा, हात्ती, गोही, चित्तल तथा गोहीको राम्रो बासस्थान रहेको सो क्षेत्र नजिकै चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा पर्छ । गोही प्रजनन केन्द्र समेत नजिकै रहेको र राप्ती नदी रहेकाले यो क्षेत्र पछिल्लो समयमा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । 

पर्यटन सूचना केन्द्र स्थापना भएसँगै पर्यटकको सहजतामा थप टेवा पुग्ने र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुहुन्छ पटिहानीको वातावरण संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष अपिल घिमिरे । ती सबै जानकारी केन्द्रमा पाइनेछ । 

पटिहानीको छितामाई मन्दिरबाट करिब ११ किलोमिटर पर चरहरा खोलासम्म जिप सफारी हुन्छ । त्यसपछि पर्यटकलाई पाँच मिनेटको पैदल गराएर सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र पु¥याइने गरी सफारी थालिएको हो । 

चितवन आउने पर्यटकको रोजाइ जंगली जनावर हेर्ने भएकाले यहाँको पर्यटन सूचना केन्द्रमा जंगली जनावर तथा यहाँको स्थानीय संस्कृतिबारे जानकारीमूलक ब्रोसरसमेत बनाइएको छ । 

आउने पर्यटकका लागि सेवा दिन निःशुल्क वाइफाईसहित कम्प्युटर, प्रोजेक्टर तथा आवश्यक सामग्री व्यवस्थापन गरिएको केन्द्रले जनाएको छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!