उपक्षेत्रीय अस्पताल डडेल्धुरामा चिकित्सक अभाव, बिरामी समस्यामा

Posted on: 29 Jan, 2018

माघ १५, डडेल्धुरा | उपक्षेत्रीय अस्पताल डडेल्धुराको स्थापना भएको तीन वर्ष बितिसक्दा पनि दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक नहुदा बिरामी मर्कामा परेका छन् । 

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएको भए पनि हालसम्म जम्मा तीनजना मात्रै विशेषज्ञ डाक्टर रहेका छन् । 

अस्पतालमा भएका डाक्टर पनि बढी समय बिदामा रहने गर्दा उपचारमा झनै समस्या हुने गरेको छ । विशेषज्ञ डाक्टर नहुँदा डडेल्धुरासहित ७ नं प्रदेशका अन्य छ जिल्लाका बिरामी उपचारका लागि धनगढी अञ्चल अस्पताल तथा नेपालगञ्जसहित भारत जान बाध्य भएका छन् । 

हाल अस्पतालमा हाडजोर्नी, स्त्रीरोगसहित एकजना एम्डिजिपी डाक्टर रहेका छन् । दरबन्दीअनुसारको डाक्टरका लागि सरकारसँग पटक पटक आग्रह गरेको भए पनि विशेषज्ञ डाक्टर नपठाउँदा उपचारमा समस्या भइरहेको उपक्षेत्रीय अस्पताल डडेल्धुराका नि.मेसु जितेन्द्र कँडेलले बताउनुभयो । 

बालरोग विशेषज्ञ डाक्टर नहुँदा उपक्षेत्रीय अस्पतालमा एक वर्ष पहिले स्थापना भएको एनआइसियु सेवासमेत सञ्चालनमा आउन सकेको छैन । एनआइसियु सेवा सञ्चालन नहुँदा यस क्षेत्रमा जन्मेदेखि २८ दिनसम्मका बिरामी बच्चाको उपचारका लागि नेपालगञ्ज वा धनगढी जानुपर्ने बाध्यता रहेको छ । 

दरबन्दीअनुसारका चिकित्सक नआउँदा यो क्षेत्रका बिरामी तथा सर्वसाधारणले समस्या भोगिरहेका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!