उदयपुरमा भोटेघोडाको सटृा भोटे कुकुरको किनबेच

Posted on: 29 Jan, 2018

माघ १५,  उदयपुर | भोटे घोडा लोप हुन थालेपछि जिल्लाको कटारीस्थित कमलानदी त्रिवेणी मेलामा यसको किनबेच नभएकाले यस पटक भने भोटे कुकुरको कारोबार बढेको छ । 

माघ १ गतेदेखि आजसम्म सञ्चालन भएको त्रिवेणी मेलामा अहिलेसम्म सबैभन्दा बढी भोटे कुकुरको किनबेच भएको मेला व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर तामाङले बताउनुभयो । 

विगतका वर्षमा सोलुखुम्बु र ओखलढुंगाको रुम्जाटार क्षेत्रबाट झारिने भोटे घोडाको किनबेच धेरै हुने गरेपनि अहिले तिनको प्रयोग र प्रचलन घट्दै गएकाले मेलामा पनि भोटेघोडाको किनबेच ठप्प हुन पुगेको मेला व्यवस्थापन समितिका सदस्य केदार धमलाले बताउनुभयो । 

उहाँका अनुसार अहिले सोलुखुम्बु र ओखलढुंगाबाट खरिद गरेर झारिएका भोटेकुकुर र तिनका छाउरासमेतको किनबेच बढेको हो । एउटा भोटे कुकुरको मूल्य रु आठ हजारदेखि रु १० हजारसम्म पुगेको छ भने छाउरा रु तीन हजारसम्ममा बिक्री भइरहेका छन् । सोलुको हिमाली क्षेत्रबाट झारिएका भोटेकुकुर अहिले तराईको धनुषा, सप्तरी, सिरहा, महोतरीसहित भारतको बिहारसम्मका ग्राहकले किनेर लगेका छन् । 

माघको ३ गतेदेखि हालसम्ममा झण्डै रु चार लाखसम्मको भोटेकुकुरको कारोबार भएको समेत त्रिवेणी मेला व्यवस्थापन समितिले जनाएको छ । 

त्रिवेणी मेलामा हिमाली भोटेकुकुरको कारोबार ह्वात्तै बढेपछि हिमाली सोलु र ओखलढुंगा क्षेत्रबाट थुप्रै भोटेकुकुर मेलामा कारोबारका लागि ल्याउने कार्यसमेत भइरहेको छ । 

माघ १ गते देखि शुरु भएको पन्ध्र दिने मेलामा अहिलेसम्म झण्डै रू दुई करोडको कारोबार भइसकेको छ भने सातलाख भन्दा बढीले त्रिवेणी धामको दर्शन गरेको मेला व्यवस्थापन समितिले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!