पोखराका कार्यालय प्रमुख सुवेदीको बिदाइ

Posted on: 29 Jan, 2018

माघ १५, पोखरा | प्रदेश नं ४ नयाँ बजार पोखराका कार्यालय प्रमुख निमदत्त सुवेदीको कार्यालयमा कार्यरत कर्मचारीका तर्फबाट आज बिदाइ गरिएको छ । 

राष्ट्रिय समाचार समितिमा २०४१ साल पुस १६ गतेदेखि स्थायी सेवा प्रवेश गर्नुभएका सुवेदी उमेर हदका कारण आजैबाट सेवा निवृत्त हुनुभएको हो । 

पर्वत जिल्लाको साविक ठानामौला गाउँ विकास समिति (हाल फलेवास नगरपालिका वडा नं ८)मा २०१६ माघ १५ मा जन्मनुभएका सुवेदी हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ नयाँ बजार बस्दै आउनुभएको छ । 

सेवा अवधिमा सुवेदीले राससको पोखरा कार्यालयसहित केन्द्रीय कार्यालय र तत्कालीन लुम्बिनी अञ्चल कार्यालयमा सेवा गर्नुभएको थियो । 

बिदाइ कार्यक्रममा उपसमाचारदाता वासुदेव पौडेलले कार्यालय प्रमुख सुवेदीले राससमा लामो समयसम्म पुर्याउनुभएको योगदान प्रशंसायोग्य भएको बताउनुभयो । 

कार्यालय प्रमुख निमदत्त सुवेदीले आफूले राससलाई सधैँ सर्वोपरी राखेको बताउँदै भावी दिनमा अझै संस्थाको गरिमा र महत्व बढ्दै जाने उल्लेख गर्नुभयो । 

सहायक समाचारदाता हरि बास्तोलाले सेवाबाट निवृत्त भए पनि राससप्रतिको मायालाई कायमै राख्न आग्रह गर्दै उहाँको जीवनको सु–स्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभयो । 

कार्यालय सहयोगी भोलानाथ पौडेलले कार्यालयको सेवाका क्रममा सुवेदीसँगको बसाइँका अनुभव व्यक्त गर्दै निवृत्त जीवनलाई अझै क्रियाशील बनाउन आग्रह गर्नुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!