इलाममा सुत्केरी प्याकेजबाट २२ महिला लाभान्वित

Posted on: 30 Jan, 2018

माघ १६, इलाम | इलाम नगरपालिकाले चालू आवको छ महिनाको अवधिमा २२ जना आमाहरुलाई सुत्केरी सुविधा प्याकेज उपलब्ध गराएको छ । 

सुत्केरी सुविधाको प्याकेजमा एक किलोग्राम घ्यू, एक पावा ज्वानो, एक किलोग्राम सखर, एक किलोग्राम मिश्री, सुत्केरी आमा र बच्चाको लागि एक÷एक थान ब्ल्याङ्केटसहित रु दुई हजार बराबरको जिन्सी सामग्री उपलब्ध गराइएको प्रशासकीय अधिकृत शाहले जानकारी दिनुभयो । 

प्रथम नगरसभाबाट स्वीकृत आव २०७४÷०७५ को बजेट तथा कार्यक्रम अनुसार सुत्केरी महिलालाई दिइने सुत्केरी सुविधाबाट इलाम नगरपालिका क्षेत्रका २२ जना महिला लाभान्वित भएका हुन् । 

सुत्केरी सुविधा प्राप्त गर्नका लागि इलाम नगरपालिका क्षेत्रमा स्थायी बसोबास भएको हुनुपर्ने, बच्चाको जन्मदर्ता भएको हुनुपर्ने, सुत्केरी सुविधा प्रत्येक वडाको महिला सदस्यले सिफारिश गरेपछि मात्र पाउने र सुत्केरी भएको एक महिनाभित्रमा सुविधा लिई सक्नुपर्ने प्रावधान रहेको नगरपालिकाले जनाएको छ । यसो गर्दा बालबालिकाको तत्काल जन्मदर्तासमेत सुनिश्चित हुने इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले बताउनुभयो । 

इलाम नगर कार्यपालिकाको गत साउन ५ गते सम्पन्न पहिलो बैठकको निर्णयानुसार इलाम नगरपालिकामा विगतमा उपलब्ध गराइएको सुत्केरी सुविधा कार्यक्रमलाई पुनः उपलब्ध गराउने निर्णयअनुरुप सुत्केरी महिलालाई प्याकेज प्रदान गरिएको हो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!