नेपाल आमाको मूर्ति बन्दै

Posted on: 30 Jan, 2018

माघ १६, कञ्चनपुर | भीमदत्तनगरपालिकाको भम्केनीमा नेपाल आमाको अष्टधातुको मूर्ति बनाउन सहयोग जुट्दैछ । 

नेपालका प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य सहयोग जुटाउन विसं २०७२ वैशाख ५ गतेदेखि पचहत्तर जिल्लाको भ्रमण पूरा गरी सोमबार यहाँ आइपुग्नु भएको छ । मूर्ति निर्माणका लागि धेरै ठाउँबाट धातुको सहयोग प्राप्त भएको छ । 

शुक्लाफाँटा नगरपालिकाले सोमबार साँझ आयोजना गरेको अभिनन्दन कार्यक्रममा उहाँले भ्रमणका क्रममा सुदूरपश्चिमका प्राकृतिक र धार्मिक रमणीय क्षेत्रको प्रचार गरिएको तथा खप्तड, पर्शुराम धाम, ब्रह्मदेव, बैजनाथ, उग्रतारा र महाकालीको महिमाबारे जानकारी दिइएको बताउनुभयो । 

नेपाल आमाको ७५ फिट लामो मूर्ति यहाँ बन्दैछ । एक जिल्ला बराबर एक फिट उचाइको मूर्तिको राखिने बताइएको छ । यही माघ २२ गतेदेखि राष्ट्रभक्ति जागरण महानुष्ठान महायज्ञको आयोजनापछि मूर्तिको शिलान्यास गरिने कार्यक्रम छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!