उदयपुरमा गैरकानुनी रुपमा क्लिनिक सञ्चालित

Posted on: 30 Jan, 2018

माघ १६, उदयपुर | कटारी नगरपालिका, कटारी बजारमा सञ्चालन हुँदैआएका करिब तीन दर्जन मेडिकल हल तथा क्लिनिकमध्ये झण्डै डेढ दर्जन गैरकानुनी रुपमा सञ्चालन हुँदै आएका छन् । 

गत शुक्रबार र शनिबार क्षेत्रीय औषधि कार्यालय विराटनगरबाट कटारी बजारमा आएको टोलीले कटारीमा आउँदा यस्ता अवैध सञ्चालन हुँदै आएका क्लिनिक तथा औषधि पसलका सञ्चालक पसल नै बन्द गरेर भागेको स्थानीयवासी शम्भुप्रसाद दाहालले बताउनुभयो । अविनाश प्याकुरेल नेतृत्वको टोली दुई दिनसम्म बस्दा पनि अवैध औषधि पसल सञ्चालकले बन्द गरेका थिए । 

अनुगमन टोली विराटनगर प्रस्थान गर्नेबित्तिकै अहिले फेरि त्यस्ता अवैध औषधि पसल र क्लिनिक पुनःसञ्चालन हुन थालेको कटारी त्रिवेणीका हेमराज कार्की बताउनुहुन्छ । सगरमाथा अस्पताल, देव मेडिकल, रोहित रोशन मेडिकल, साझा पोलिक्लिनिकसहित दर्जनौ  औषधि पसल र क्लिनिक अहिलेसम्म पनि गैरकानुनी रुपमा सञ्चालन हुँदै आएको आरोप कटारी बजारकै एक पुराना मेडिकल सञ्चालकले लगाए । 

यस्ता अवैध पसलसँग आधिकारिक कागजात नभएको र धेरैले करसमेत नतिरेको वा करको दायरामा नआएको क्षेत्रीय औषधि कार्यालय विराटनगरका कर्मचारीले बताएका छन् । इजाजतपत्र नभएका अवैध क्लिनिक तथा औषधि पसलले औषधिको मूल्य दोब्बर लिने र बिरामी जाँच गर्दा महँगो शुल्क लिने गरेको आरोप लगाइएको छ । 

कतिपय क्लिनिकले बिरामीलाई गलत औषधि सिफारिस गर्ने र लामो समयसम्म आफ्नै क्लिनिकमा झुलाएर राख्ने गरेको कटारी हरैयाका देवबहादुर कटुवालको भनाइ छ । यस्ता अवैध क्लिनिकको भरपर्दा अन्त्यमा बिरामी उपचारका लागि बाहिर जान बाध्य हुनुपर्ने र कतिपयको ज्यान नै जाने गरेको कटारीवासी बताउँछन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!