चितवनमा पाँच हजार ७२४ भूकम्प प्रभावितबाट नाम छुटेको भन्दै निवेदन

Posted on: 30 Jan, 2018

माघ १६, चितवन | भूकम्पले घर भत्काएको तर लगत संकलनमा आफ्नो नाम छुटेको भन्दै पाँच हजार ७२४ जनाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालयमा निवेदन दिएका छन् । 

कार्यालय प्रमुख राजेन्द्र कार्कीका अनुसार भरतपुर महानगरपालिकाबाट ३६४ वटा र रत्ननगर नगरपालिकाबाट ९८७ निवेदन प्राप्त भएका हुन् । 

यस्तै खैरहनी नगरपालिकाबाट ५२७, राप्ती नगरपालिकाबाट ९२२, माडी नगरपालिकाबाट १५, कालिका नगरपालिकाबाट एक हजार ७८० र इच्छाकामना गाउँपालिकाबाट एक हजार १२९ जनाले निवेदन दर्ता गराएको कार्यालयका प्रमुख कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार उजुरी आउने क्रम जारी छ । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पका कारण जिल्लामा सात हजार ३३५ घरपरिवारको भौतिक संरचनामा क्षति भएको तथ्याङ्क उतारिएको थियो । सो तथ्याङ्क लिँदा आफूहरु छुटेको भन्दै उनीहरुले पुनःनिर्माण र मर्मतका लागि निवेदन दर्ता गराएका हुन् । कार्कीका अनुसार छुटेकाको संख्या पनि झण्डै सात हजार हाराहारी पुग्ने अनुमान छ । 

छुटेका निवेदन संकलन गरी केन्द्रमा पठाइएको र केन्द्रको निर्णयअनुसार नै थप के गर्न सकिन्छ निधो हुने कार्कीले बताउनुभयो । 

शुरुमा निवेदन दिएका र प्रमाणित भएकामध्ये पहिलो किस्ता पाँच हजार ३२३ जनाले लिइसकेका छन् । 

दोस्रो किस्ताका लागि १९१ घर परिवारले निवेदन दिएका छन् । उनीहरुको निवेदन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट प्रक्रिया अघि बढिसकेको छ । तीमध्ये पनि १३ जनाले अन्तिम किस्ताका लागिसमेत निवेदन दिएको कार्यालयका प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो । पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख दिने व्यवस्था छ । 

मर्मतका लागि भने ३५९ घरले रु ५० हजार लगिसकेका छन् । मर्मत गर्नु पर्ने घर ५९३ छन् । उनीहरुले रु एक लाखसम्म मर्मतका लागि पाउने व्यवस्था छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!