चितवनमा ६ महिनामा १७ गैँडा मरे

Posted on: 31 Jan, 2018

चितवन, १७ माघ | चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा कालगतिबाट १७ वटा गैँडा मरेका छन् । तीमध्ये दुई बच्चासहित चार गैँडा बाढीका कारण मरेका हुन् । 

शून्य चोरी शिकारी भएको भए पनि बाढीसँगै जुँधेर, बुढो भएर र बच्चा जन्माउन नसकेर ती गैँडा मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । 

निकुञ्ज क्षेत्रमा तीन र वन क्षेत्रमा एक गरी चार गैंडा बाढीका कारण मरेका हुन । अर्यालकाअनुसार बाढीले दुईवटा र बाघले खाएर एउटा बच्चा मरेका छन् । 

५० वर्ष आयु हुने भए पनि ३० वर्ष कटेपछि गैंडा कमजोर हँुदै जाने गर्दछ । बुढो भएर मरेका अधिकांश गैँडा ३०÷३५ वर्ष कटेका रहेका छन् । गत आर्थिक वर्षमा कालगतिले २५ वटा गैँडा मरेका थिए । 

सन् २०१५ मा गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा ६ सय ५ वटा गैँडा रहेका थिए । सो पश्चात बर्दिया राष्ट्रिय निकुञ्जमा ८ वटा र शुक्लाफाँटामा पाँचवटा गैँडा स्थानान्तरण गरिएको छ । 

गएको साउनको अन्तिम साता आएको बाढीका कारण बगाएका १० वटा गैँडाको उद्धार गरिएको थियो । त्यतिबेला बाढीले घाँसेमैदान नष्ट गरेपछि निकुञ्जमा रहेका गैँडा समस्यामा परेका थिए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!