हराएका व्यक्तिको यकिन तथ्यांक लिन समस्या, यस्तो छ कारण

Posted on: 02 Feb, 2018
माघ १९, चितवन | जिल्ला प्रहरी कार्यालयमा मानिस हराएको सूचना लिएर आउनेहरु मानिस फेला परेपछि भने जानकारी दिन नआउने गरेको पाइएको छ । 
हराएका मानिस परिवारको सम्पर्कमा आएपछि प्रहरीमा जानकारी नदिने गरेका कारण यकिन तथ्यांक लिन समस्या हुने गरेको हो । यसले गर्दा प्रहरीमा हराएका मानिसको संख्या बढी देखिने गरेको छ । 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चालू आर्थिक वर्षको छ महिनामा २३३ जना हराएको भनी निवेदन परेको छ । तीमध्ये १८४ जना भेटिएको कार्यालको तथ्याङ्कले देखाएको छ । ३९ जना अझै नभेटिएको प्रहरीको तथ्यांकले देखाउँछ । यद्यपि उनीहरुमध्ये केही परिवारको सम्पर्कमा आएको हुनसक्ने प्रहरीको अनुमान छ । 
प्रहरीका अनुसार यो अवधिमा बालक १८ जना हराएका थिए भने बालिका ३२ जना, महिला १४२ जना र पुरुष ४१ जना हराएका थिए । जसमध्ये बालक र बालिक १८ जना र ३२ जना नै भेटिएका छन् भने महिला १०५ जना र पुरुष २९ जना भेटिएका छन् । 
अघिल्लो आव २०७३÷७४ मा बालक ३०, बालिका ६५, महिला २२९, पुरुष ३८ गरि ३६२ जना हराएका थिए । जसमध्ये २७२ जना भेटिएको कार्यालयले जनाएको छ । भेटिनेमा बालक २८, बालिका ५९, महिला १५५, पुरुष ३० जना रहेका छन् । सो आवमा ९० जना हराएको कार्यालयले जनाएको छ । हराउनेमा बालक दुई, बालिका छ, महिला ७४ र पुरुष आठजना रहेका छन् । 
कार्यालयका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार जो कोही हराएपछि निवेदन दिने र भेटिएको भन्दै जानकारी नदिने गरेका कारण हराएकाको संख्या धेरै देखिने गरेको छ । आफ्नो मानिस भेटिइसकेपछि प्रहरीलाई खबर गर्नुपर्छ भन्ने विषयमा समेत जानकारी गराउन आफन्तले चासो नदिनु मुख्य समस्या रहेको उहाँको भनाइ छ । 
प्रहरीले मानिस हराएको फाइल थन्काइसकेपछि पुनः खोजतलास नगर्दा पनि हराएका मानिसको यकिन तथ्यांक आउन नसकेको हो । 
निवेदनमाथि कारबाही भएपछि कारबाहीको जानकारी नहुनु समस्या रहेको आचार्यले बताउनुभयो । बढी मात्रामा महिला हराउनुले धेरैजसो महिला एउटा घरबाट अर्को घर परिवर्तन गर्ने गरेको र आफन्तले उसलाई चासो नदिएका कारण यस्तो समस्या आउने गरेको उहाँले बताउनुभयो । 
यो समस्या अहिले वैदेशिक रोजगारमा रहेका पुरुषको घरमा बढी हुने गरेको उहाँले बताउनुभयो । अहिले समाजमा वैदेशिक रोजगारमा लैजाने बहानामा छिमेकी मुलुकमा पुर्याएर बेचबिखनमा पर्ने गरेको पनि उहाँले बताउनुभयो । योमात्रै नभएर हराएका कतिपयले विविध कारणले आत्महत्या गर्ने गरेको समेत पाइएको उहाँले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!