बिदेशको कमाइले गाउँमा स्वास्थ्य शिविर

Posted on: 05 Feb, 2018

माघ २२, कालिकोट | जिल्लाको शान्नित्रिवेणी गाउँपालिका वडा नं. १ लुसाका दुई दाजुभाईले बिदेशमा गरिएको कमाईबाट गाँउमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । आफु जन्मिएको गाउँका नागरिकको स्वास्थ्यमा पहुँच हुन नसकेको महसुस गरी शान्नित्रिवेणी १ लुसाका दीलबहादुर कठायत र केशव कठायत दुई दाजु भाईले गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।


शान्नित्रिवेणी गाउँपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा यी दुई दाजुभाईले गाँउमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेपछि गाउँका १ हजार ३ सय ७७ जना नागरिकहरुले सेवा लिएका छन्  । शान्नित्रिवेणी गाउपालिका स्वास्थ्य संयोजक मीनबहादुर बिष्टका अनुसार बाल रोग, स्त्री रोग, दाँत, आँखा, हाड जोर्नी तथा सामान्य उपचारका लागि संचालन गरिएको स्वास्थ्य शिविरमा ७ सय ८९ जना महिला र ५ सय ८८ जना पुरुषले सेवा लिएका छन् ।

शान्नित्रिवेणी गाउपालिका वडा नं. २ मा जन्मिएका दीलबहादुर कठायत आजभोली चीनमा व्यापार व्यवसाय गर्दै आएका छन् । ‘गाउँमा हुँदा आफ्नो बाल्यकालमा सामान्य बिरामी भएका बेला उपचार गर्न समस्या खेप्नु परेको सम्झना गरेपछि शिविर सञ्चालन गर्ने योजना बनाएको हुँ’ कठायतले भने, ‘सानो सहयोगले गाउँका धेरै मानिसहरुलाई सेवा हुने ठाने पछि शिविर सञ्चालन गरिएको हो ।’


स्थानीय नरु गिरीले आफुलाई हुने बिभिन्न दम, खोकी लगायतका समस्याको उपचार गाँउमै पाएपछि निकै खुसी भएको बताए । उनले गाँउमा ठुला ठुला डाक्टहरु पनि आफुले पहिलो पटक देख्न पाएको बताए ।स्थानीय अम्मा कठायतले आफुलाई पेट दुख्ने समस्याले धेरै बर्ष पहिलेदेखी सताईरहेको बताउँदै गाँउमै उपचार गर्न पाउदा निकै राहत भएको बताईन् । उनले शिविरमा आएर चेकजाँचसँगै औषधीहरु समेत निःशुल्क पाएपछि खुसी लागेको बताईन् ।

शान्नित्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले दिलबहादुरका दाजुभाईले बिदेशमा कमाएको पैसाले गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर नमुना काम गरेको बताउँदै गाँउपालिकाले पनि यसमा सहयोग गरी भिडियो एक्सरे सेवा समेत सञ्चालन गरेको बताए । उनले बिदेशमा गरिएको कमाई गाउँका नागरिकहरुको स्वास्थ्यमा लगानी गरी दीलबहादुरले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!