रुकुममा पखालाका कारण तीन महिनाकी बालिकाको मृत्यु

Posted on: 07 Feb, 2018

माघ २४, रुकुम | रुकुम पूर्वमा तीन महिनाकी एक बालिकाको पखालाका कारण मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेराका श्यामबहादुर विककी तीन महिनाकी छोरीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । 

केही समय पहिले यहाँ हिमपात भएपछि अत्यधिक चिसोका कारण पाँच दिनसम्म लगतार पखाला चलेर बालिकाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, रुकुम पूर्वका जनस्वास्थ्य अधिकृत शिव सार्कीले जानकारी दिनुभयो । बालिकाको गत आइतबार साँझ मृत्यु भएको भए पनि दुर्गम ठाउँ भएकाले ढिला गरेर सूचना आएको उहाँको भनाइ छ । 

चिसोका कारण अहिले पनि गाउँपालिका–१० को तकसेरामा धेरै जसो मानिसमा कोल्ड डायरियाको समस्या रहेको जनस्वास्थ्य अधिकृत सार्कीले बताउनुभयो । कोल्ड डायरियाले प्रकोपको रुप नलिएको भएपनि बिरामीको संख्या १५ देखि २० जनासम्म रहेको जानकारी आएको उहाँको भनाइ छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!