हत्या आरोपमा सिन्धुलीका एक युवा पक्राउ

Posted on: 07 Feb, 2018

 माघ २४, काठमाडौँ | आफ्नो साथीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ । 

सिन्धुलीको सिन्धुलीगढी घर बताउने ‘मोटे’ भन्ने सानु मगर नाम गरेका एक व्यक्ति आज बिहान कागेश्वरी मनोहरा नपा, मूलपानी क्रिकेट ग्राउण्ड नजिकैको सडक छेउमा रगताम्मे अवस्थामा मृत फेला परेका थिए । 

सो घटनामा संलग्न भएको आरोपमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले खोटाङ, चिसापानी घर भई राजधानीमा बस्दै आएका प्रेम खड्का भन्ने राजन कटुवाललाई पक्राउ गरेको हो । 

मृतक र आरोपित कटुवालबीच करिब एक महिना अगाडि चिनजान भई साँखुमा साथै ज्यामी काम गर्ने गरेका र कामको सिलसिलामा दुईबीच मनमुटाव भएको खुलेको छ । 

गएराति ११ बजेतिर मृतक सानु मगर कटुवाल सुत्ने गरेको कोठामा आएको र उनीहरुबीच विवाद भएको प्रहरीले जनाएको छ । 

विवाद हुँदै गएपछि मृतक मगरलाई लखेटी सडक छेउमा कटुवालले चिर्पट तथा ढुंगा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!