भारत जाँदै गरेकी १९ बर्षीय युवतीको सीमानाकाबाट उद्धार

Posted on: 08 Feb, 2018

आभास पौडेल/माघ २५, कपिलवस्तु । कपिलवस्तुको सीमा नाका कृष्णनगरबाट एक युवतीको उद्धार गरिएको छ ।

मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था केआई(KI) नेपालले सीमा निगरानी गर्ने क्रममा मंगलबार कपिलवस्तुकी एक युवतीको उद्धार गरेको छ।

बुद्धभूमि नगरपालिका बस्ने १९ वर्षीया  युवतीलाई भारतको बलरामपुर जाँदैगर्दा सीमा नाका कृष्णनगरबाट उद्धार गरिएको संस्थाका संयोजक केशर विश्वकर्माले जानकारी दिए।

विश्वकर्माका अनुसार युवती घरमा कुनै जानकारी नदिई भारतको बलरामपुर जाँदै थिइन्। उद्धारपश्चात् आवश्यक सोधपुछ गर्दा युवतीले बाबाले सधैँ मदिरा सेवन गरेर कुटपिट गर्ने र घरको आर्थिक अवस्थासमेत कमजोर रहेका कारण रोजगारीका लागि भारततिर जान लागेको बताएकी थिइन्। भारत जाँदा हुन सक्ने जोखिमलाई हेरी उनको उद्धार गरिएको विश्वकर्माको भनाई छ।  

युवतीका अभिभावक बोलाई आवश्यक प्रक्रिया पुर्याइ उनलाई आत्मनिर्भर बनाउने उद्देश्यले केआई नेपालको सुरक्षित आवासगृह चितवन पठाइएको र करिब एक महिनाको अवधिमा संस्थाले चारजना चेलीको उद्धार गरिसकेको छ। 

उद्धार गरिएका सबैलाई केआई नेपालको सुरक्षित आवासगृहमा चितवन पठाइएको उनले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!