कालिकोटमा पलातामा १२ कक्षासम्म पढ्न शुल्क नलाग्ने

Posted on: 09 Feb, 2018

माघ २६, कालीकोट | जिल्लाको सबैभन्दा बिकट पलाता गाउँपालिकाले उच्च शिक्षा निःशुल्क दिने निर्णय गरेको छ । गाउँपालिकाले सरकारले गर्न नसकेको उच्च शिक्षा निःशुल्क गर्ने औपचारिक निर्णय गरेको हो । गाउँपालिकाको निर्णय अनुसार अब ११ र १२ कक्षामा जुनसुकै विषय अध्ययन गर्ने विद्यार्थीहरुबाट पलाता गाउँपालिकाका कुनै पनि विद्यालयले एक रुपैयाँ शुल्क समेत लिन पाउने छैनन् ।

गाउँपालिका क्षेत्रभित्र जम्मा चार वटा उच्च माध्यामिक विद्यालय रहेका छन् । गाउँपालिकाले नै विद्यालयलाई आवश्यक पर्ने रकम विनियोजन गर्ने भएपछि निःशुल्क शिक्षा घोषणा गरिएको हो । विगतमा स्थानीय शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक शुल्क लगायतका बिभिन्न शुल्क लिने गरिएपछि विद्यालयलाई आवश्यक रकम गाउँपालिकाबाट विनियोजन गरी पूर्ण रुपमा उच्च शिक्षा निःशुल्क गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए ।

चार वटा विद्यालयहरुका लागि गाउँपालिकाले ३५ लाख रुपैयाँ छुट्याएको छ । सोही रकमबाट विद्यालयलाई आवश्यक पर्ने पूर्वाधार निर्माण, शिक्षकको तलव खर्च व्यहोर्ने अध्यक्ष बमको भनाइ छ । यसअघि निजी श्रोतबाट सञ्चालित दशजोड दुई विद्यालयका शिक्षक, कर्मचारी र आवश्यक ब्यवस्थापनको जिम्मा पूर्णरुपमा गाउँपालिकाले लिने निर्णय भएका अध्यक्ष बमले बताए ।

आवश्यक सबै खर्च गाउँपालिकाले व्यहोर्ने भएपछि गाउँपालिकामा संचालित उच्च माविहरुमा निःशुल्क शिक्षा घोषणा गरिएको हो । यस अघि विभिन्न बहानामा विद्यार्थीहरुले वार्षिक रुपमा ९ हजारदेखि २५ हजारसम्म शुल्क तिर्नुपर्ने बाध्यता थियो । निःशुल्क पढ्न पाउने भएपछि विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् । गाउँपालिकाको वडा नं. ५ मा रहेको कर्णाली माध्यामिक विद्यालयमा कक्षा ११ मा अध्यनरत छात्रा केषपुराकुमारी बुढाले गाउँपालिकाको निर्णयले आफूहरुलाई उच्च शिक्षाको बाटो सजिलो भएको बताईन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!