'मेरा श्रीमान स्पेनमा नै बिहे गरेर हराए …'

Posted on: 11 Feb, 2018

विजय शर्मा दर्पण | स्वीटजरल्याण्ड । भनिन्छ, नारी-पुरुष एक अर्काका परिपूरक हुन् । अर्थात् श्रीमान श्रीमती एक रथका दुई पाङ्ग्रा । यात्राका क्रममा रथ चलाउन दुबै पाङ्ग्रा आवश्यक पर्दछ । एउटा मात्रै पाङ्ग्रा प्रयोग भयो भने यात्रा अधुरो, अपुरो रहन्छ । जहाँ प्रेममय सम्बन्ध हुन्छ, त्यहाँ श्रीमतीलाई दुख्यो भने श्रीमानले त्यो दुखाइको महसुस गर्छ । त्यस्तै, श्रीमानलाई दुख्यो भने श्रीमतीले त्यो दुखाइको महसुस गर्छिन् । तर यहाँ एक श्रीमतीले आफ्नै श्रीमान र घर परिवारबाट तड्पिएको घटना प्राप्त भएको छ । पत्नीले विश्वाश गरेर बिदेश जान सहर्ष स्विकारेका पतीले जब उनैलाई धोका दिएर पर नारीसित नारिन्छन्, आफ्नै पत्नीलाई विश्वाशघात गर्छन् तब त्यसको पीडा कति हुन्छ ? उनको जाने ठाउँ कहाँ हुन्छ ? टेक्ने हाँगो कता हुन्छ ? यहि विश्वाशघात, पीडा र बेदनाको कथा हो यो ।

गङ्गा लक्ष्मी बाराकोटी र चितवनकै हाकिम चोक बस्ने लिलाधर (राहुल) शर्मा सापकोटाले २०६६ साल माघ ९ गते लंकु हरिकिर्तन मन्दिरमा बिहे गरेका थिए । गङ्गालाई झल्झली याद छ, बिहे गरेपछि दुवै जना बेलायत जाने आस्वासन दिएका थिए सापकोटाले । तर त्यो बेला दुबै जनाकालागि जुरेन, त्यो यात्रा । बिहे गरेको ६ महिनामै एक्लै बिद्यार्थी भिषामा बेलायत हिँडे राहुल । एक बर्षपनि नबसी सापकोटा बेलायतबाट स्पेनतिर लागे । श्रीमानलाई एक्लै विदेश पठाउँदा नरोएको बाराकोटीको मन अहिले दिनप्रतिदिन भक्कानिएको छ । आठ बर्ष अगाडी श्रीमानलाई गरेको बिश्वास अहिले विश्वासघातमा परिणत भएपछि आँखाबाट बलिन्द्र आँसु झार्ने र मन कोक्याउँदै सहनुपरेको छ । पतीलाई गरिएको बिश्वास तोडिएपछि उनको कुरा गर्यो कि बराकोटी रुन थाल्छिन् । आर्थिक अवस्था सम्पन होस् वा बिपन्न, दुःखसुख दुवैले साझेदारी गर्नुपर्नेमा विदेश गएर श्रीमानले अर्को बिहे गरेको सुन्दा कुन महिलाको छाती पोल्दैन ? दुख, पिर, पीडा र आक्रोशले मन पाक्दैन ?

चितवनकी बराकोटीले बिहे गरेको ६ महिनामा नै श्रीमान राहुल शर्मा सापकोटाले विदेश जान्छु भने । उनले रोक्न सकिनन् । श्रीमान बेलायत हुँदै स्पेन गए । मध्यमस्तरको परिवरका अनेक समस्या र आशाहरु हुन्छन्। तिनलाई पुरा गर्न मानिसले सबै कोसिस गर्छ । उनले भनिन – मानिस प्रायः जसो काममा व्यस्त छन् । बिदेशमा कामको ब्यस्तताले घरपरिवारलाई समय दिन नसक्ने बाध्यता धेरै नै सिर्जना भैरहेको हो कि ? हरेक श्रीमान श्रीमतीले पनि यस्तै कुराहरु बुझ्दै आएका छन् । मैलेपनि यहि सम्झेकि थिएँ ।

त्यसो त बिहे गरेको दिन देखिनै घर परिवारमासमेत धेरै दुख झेल्दै आएकी हुन् उनले । तैपनि पतीलाई अप्ठेरो नहोस, जिन्दगी उज्ज्वल होस भनेर उनले पतीलाई बिदेश जान रोकिनन् । १२ कक्षा उतिर्ण गरेकी उनले श्रीमानसंग बेलायत जान नपाएपनि स्नातक पढ्न रहर गरेकि थिईन् । तर उनको सपना परिवारले पुरा गर्न दिएन । आमा बाबालाई कसले हेर्छ । खाना चौका कसले गर्छ ? यस्ता प्रश्न तेर्साएर पढ्नबाट बन्चित त गरियोनै, मानसिक तनाबपनि परिवारले दिनदिनै दिन थाले ।

बिदेशमा भएपनि शुरुशुरुमा हरेक दिन यि दम्पतीबिच कुरा भैराख्थ्यो । पछिल्लो समयमा पतीसित सम्पर्क हुनपनि छाड्यो । गहभरी आँसु पार्दै भनिन – 'दिनहुँ सम्पर्क भैरहन्थ्यो । हामी टाढा छौं जस्तो लाग्ने थिएन । ६ बर्षपछि उहाँको ब्यबहार एक्कासी बदलिदै गयो । फोन पनि कम गर्न थाल्नुभयो । दिनहरु बित्दै गए । पछि त राम्रोसंग बोल्न पनि छाड्नु भयो ।'

एक्कासि उनको ब्यबहार परिबर्तन भएपछि लक्ष्मीलाई शंका लाग्यो । स्पेनमा रहेका साथी भाईहरुसंग सम्पर्क गरेर पतीको हालखबर बुझ्न खोजिन । यता हुन्जेल साझा जिन्दगी बिताउने अनेक सपना सुनाउने पती स्पेन पुगेपछी किन सम्पर्क गर्नपनि गाह्रो मान्न थाले ? लक्ष्मीको मनमा अनेक कुरा खेल्न थाले । साथीहरुसित सम्पर्क गर्दा सुनाए ” उहाँले त यतै गोरेनीसित बिहे गरेर बस्नुभएको छ ।” यस्तो खबर सुन्दा संसार नै उल्टो भएजस्तो अनुभब भयो उनलाई । कुन नारीले सहन सक्लान त श्रीमानले दोस्रो बिहे गरेको खबर ?


लक्ष्मी बराकोटीले आफ्ना पतीले स्पेनमा अर्की बिहे गरेको थाहा पाएको दुई बर्ष भयो । यी दुई बर्षमा श्रीमानलाई फर्काउन हर-सम्भब प्रयास गरिन् उनले । अनेक सम्झाईन् । बिगतमा पतीले दिएका आस्वाशनहरु स्मरण गराईन् । फेरि दुख गर्नुपरेपनि आफू मिलेर अगाडि बढ्न तयार रहेको प्रतिबद्दता देखाईन् । तर उनले जति कोसिस गरेपनि उनी असफल भईन् ।

कुनै सिप नलागेपछी उनले जिल्ला अदालतमा न्यायकालागि उजुरी दिएकी छन् । रुँदै सुनाईन् – 'यहाँ रहेका महिलाकर्मीहरुसंग हार गुहार गरें । तर उनीहरुले मेरो उजुरी लिन मानेनन् । किनकि उक्त संथामा सापकोटाको पकट रहेको छ । सापकोटालाई बचाउन खोजे ।'

केहि गर्दापनि पती लिलाधर शर्मा सापकोटालाई नेपाल फर्काउन नसकेकी बाराकोटीले खिन्न हुँदै भनिन् “पहिले त म श्रीमानलाई भन्ने गर्थें, बिहे त गरिहाल्नु भयो । अब नेपालमा नै आउनुस । संगै मिलेर बसौला । तर आजकल मन मरिसक्यो ।”

छोरीको खाउँ खाउँ र लाउँ लाउँ भन्ने उमेरमा निरास भएको देख्दा उनकी आमा अमृता बाराकोटीलाई पनि नरमाइलो लागेको छ । तर कसरि सापकोटालाई नेपाल फर्काउने भन्नेमा परिवार चिन्तित छ । पतीले स्पेनमा बिहे गरेर बसेको थाह पाएपछी लक्ष्मी बाराकोटी बिगत दुई बर्ष देखि माईतिघर चितवन पर्सामा बस्दै आएकी छन् ।

आफ्ना पती त उता स्पेनमा अर्की पत्नीसित आनन्दले बसेका छन् । तर यता लक्ष्मीभने दिनदिनै आफ्नो भविष्य संझेर चिन्तित छन् । न पतीले फोन गर्छन् । न उनलाई सम्पत्तीनै दिन्छन् । न उता गरेको बिहेबारे स्पष्ठ खुलाउँछन् ।

लक्ष्मीले आफ्नो अधिकारकालागि आवाज उठाएको र जिल्ला अदालतमा उजुरी दिएकाले पनि हुन सक्छ, पछिल्लो समयमा यो घटनालाई शर्माका परिवारले पाँच लाख दिएर मिलाउन हर-प्रयास गरेका छन् । तर लक्ष्मीले मानेकी छैनन् । भन्छिन् ‘मैले हिम्मत हारेको छैन । उनलाई युरोपको जहाँ भएपनि नेपाल झिकाएरै छाड्ने मेरो प्रतिबद्दता छ ।’ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!