पैसा कमाउन विदेश नै जानु पर्दैन, मासिक लाखभन्दा बढी कमाई

Posted on: 11 Feb, 2018

गोपालप्रसाद पोखरेल / माघ २८, मोरङ | दैनिक रुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रुपमा प्रस्तुत हुनुभएको छ । 

एक माउ भैँसीबाट पशुपाल शुरु गर्नु भएका चोङवाङले मासिक रु एक लाख ६० हजारको दुग्ध र वार्षिक एकसय ट्र्याक्टर गोबर बिक्री गर्दै आउनुभएको छ । २०६७ सालदेखि एक माउ भैँसीबाट पशुपालन शुरु गर्नुभएका चोङवाङले अहिले आफँैले उत्पादन गरेको १२० लिटर दूध बिक्री गर्दै आउनुभएको छ । उहाँले वार्षिक रुपमा बिक्री गर्ने सय ट्र्याक्टर गोबरमल प्रतिट्र्याक्टर रु तीन हजारका दरले बिक्री गर्दै आएको बताउनुभयो । 

चोङवाङले गाउँमा आफँै रोजगारीको सृजना गर्ने विचारले कुलझोडा पशुपालन तथा दुग्ध व्यवसाय प्रालिको स्थापना गर्नुभयो । उहाँले अहिले आफ्नै चार बिघा जमिनमा स्थापना गरेको पशुपालन केन्द्रमा पाँच जनालाई रोजगारी दिनु भएको छ । सो केन्द्रमा अहिले नौ माउ भैँसी र पाँच माउ गाई छन् । व्यवसायलाई बिस्तार गर्ने उद्देश्यले सातवटा बाच्छी र ६ वटा पाडी पाल्नुभएको छ । रु दश लाखको लगानीमा शुरु गरेको व्यवसायमा हाल रु २० लाख लगानी पुगिसकेको चोङवाङको भनाइ छ । 

उहाँले मासिक रुपमा रु एक लाख ४० हजारको दुग्ध बिक्री गर्ने गरेको बताउनुहुन्छ । उहाँ मात्र होइन ३ वर्ष मलेसियामा काम गरेर फर्किनुभएका मोरङ दर्वेशा–१ का अशोक सुवेदीेले बाख्रापालन गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । परिवार नै मिलेर दुईवटा बाख्राबाट बाख्रा फारम खोल्नुभएका सुवेदी परिवारले अहिले १०० वटा बाख्रा पाल्न थाल्नुभएको छ । उन्नत जातका बाख्रा पाल्न शुरु गरेपछि सुवेदी परिवारको आर्थिक जीवनस्तरमा सुधार आएको छ । आफू विदेशमा काम गर्न जाँदा कमाउन नसकेको र हाल बाख्रापालनबाट मनग्य आम्दानी हुने गरेकाले अरूलाई पनि यही पेशा अपनाउन उहाँ आग्रह गर्नुहुन्छ । 

सुवेदीले बाख्रापालन सँगै दुई जनालाई रोजगारीसमेत दिनुभएको छ । अरूले कृषि पेशा गरेको सुनेको आधारमा आफूले पनि व्यवसाय थालनी गर्नुभएका सुवेदीले फारमबाट उत्पादन भएको बोका–पाठीहरु तीन महिनामा बिक्री गर्न हुने र चार महिनामा १८ किलोसम्म पुग्ने गरेको बताउनुभयो । बीउका रुपमा बाख्रा विभिन्न क्षेत्रबाट माग हुने गरेको भएता पनि माग पूरा गर्न नसकिरहेको सुवेदीको भनाइ छ । उहाँ मात्र होइन जिल्लाका ४० युवा व्यावसायिक पशुपालन र दुग्ध उत्पादन व्यवसाय गर्दै आएको जिल्ला पशुसेवा कार्यालय मोरङले जनाएको छ । अहिले मोरङमा साना–ठूला गरेर चारसय व्यावसायिक पशुफार्म सञ्चालित छन् । 

जिल्ला पशुसेवा कार्यालय मोरङका प्रमुख डा सुशील अधिकारीका अनुसार व्यावसायिक रुपमा १४३ वटा गाईको फार्म सञ्चालन गरिएको छ । त्यस्तै १४ भँैसी फार्म र पाँच पाडा–पाडीको फार्म दर्ता छन् । त्यस्तै मोरङ जिल्लामा ७० बाख्रा, ६४ बंगुर, २० कुखुरा र ४१ वटा मिश्रित फार्म दर्ता भएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!