रोल्पा: गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन

Posted on: 11 Feb, 2018

कविता उपाध्याय/माघ २८, रोल्पा । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको कार्यक्रमका संयोजक विनोद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार रोल्पा नगरपालिका सुवर्णावती गाउँपालिका, लंग्री गाउँपालिका, सुनछहरी गाउँपालिका, रुन्टीगढी गाउँपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका र सुकिदह गाउँपालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको छ । 

स्थानीय स्रोत र सीपको उपयोग गरी लघु, घरेलु, साना मझौला तथा ठूला उद्योगको स्थापना र सञ्चालनलाई प्रभावकारी बनाउने कार्यक्रमको रणनीतिक योजना रहेको हुरेक रोल्पाका अध्यक्ष घनश्याम आचार्यले जानकारी दिनुभयो । 

आचार्यका अनुसार औद्योगिक क्षेत्रको विकास र विस्तारद्वारा रोजगारी वृद्धि, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गरी राष्ट्रिय अर्थतन्त्रको अभिवृद्धि गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको छ भने उद्योग क्षेत्रको उत्पादन गरी कूल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान बढाइने छ । 

यसरी कार्यक्रम लागू भएका विभिन्न स्थानमा लक्षित वर्गले व्यवसाय शुरु तथा सुधार गर्नका लागि विभिन्न किसिमका तालीम सञ्चालन भइरहेको छ । कार्यक्रम लागू भएका स्थानमा सिलाइकटाइ, मुढा बुनाइ, सल बुनाइ, झोला बुनाइ, बंगुरपालन, कुखुरापालन, च्याउ खेती तथा अन्य विभिन्न किसिमका तरकारी खेतीका लागि तालीम सञ्चालन भइरहेको बताइएको छ । 

तालीमका लागि लक्षित वर्गअन्तर्गत दलितबाट ३०, जनजाति ४० तथा अन्यबाट ३० प्रतिशत चयन गरिनेछ भने ७० प्रतिशत महिला अनिवार्य हुनुपर्ने नीतिगत व्यवस्था गरिएको छ । 

तालीममा महिला र पुरुषलाई समान सीप प्रदान गरिने बताइएको छ । तालीम लिइसकेपछि १६ देखि ६० वर्ष उमेर समूहका व्यक्तिले आफूले रोजेको व्यवसाय सञ्चालन गर्न सक्नेछन् । रोल्पा नगर कार्यपालिका, उद्योग विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा रु ६८ लाख ९६ हजार ३४२ विनियोजन गरिएको छ । 

यसरी कार्यक्रम लागू भएका गापा तथा नपामा नगर तथा गाउँ उद्यम समिति गठन भइसकेको छ । समितिले सम्बन्धित गापा तथा नपामा उद्यमसम्बन्धी रणनीतिक योजना तथा बजेट लागतसम्बन्धी रणनीतिक योजना तथा बजेट लागतसम्बन्धी विविध गतिविधि सञ्चालन गर्नेछ । 

जिल्लामा स्थानीय स्तरका आठ स्थानमा सञ्चालित कार्यक्रमका लागि फिल्डमा ६ जना मात्र कर्मचारी खटाइएको हुँदा कर्मचारीलाई भ्याइनभ्याई भएको कार्यक्रमका सहजकर्ता हिसिला डाँगीले बताउनुभयो । 

यस्तै उद्यम सहजकर्ता सबिना केसीका अनुसार उहाँको कार्यक्षेत्रमा तालीमका लागि २५ जना मात्र सहभागी तोकिएका छन् । “धेरै जना तालीममा सहभागी हुन चाहन्छन् सीप सिक्न चाहन्छन् तर सहभागी गराउन सकिएको छैन,” उहाँले भन्नुभयो । 

यही २०७४ साल मंसिर २५ गतेबाट हुरेक रोल्पाद्वारा सञ्चालनमा आएको कार्यक्रम आगामी असार मसान्त सम्मका लागि सञ्चालनमा रहने छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!