चितवनमा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

Posted on: 12 Feb, 2018

माघ २९, चितवन । पूर्वी चितवनको खैरहनीस्थित ज्यामिरेमा एम्बुलेन्सको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान करिब १ बजेको समयमा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका भारत बिहारका अन्दाजी ५० वर्षीय विद्यानन्द झाको उपचारका क्रममा मृत्यु भएको हो । 

पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरेमा पूर्वबाट आउँदै गरेको ना२च ४१२६ नंको एम्बुलेन्सले उनलाई ठक्कर दिएको थियो । 

जनकपुरबाट काठमाडौँ जान आउँदै गरेको ना६ख १२३३ नंको बसमा सवार यात्रु झा गाडी रोकेर पिसाब फेर्न जान लाग्दा एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । 

बाटो काटेर जाने क्रममा राति १ बजे एम्बुलेन्सको ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा बिहान २: २० बजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शवलाई भरतपुर अस्पतालमा राखिएको छ भने एम्बुलेन्स चालक नियन्त्रणमा छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!