प्रथम शहीद थापाको जीवनी पठनपाठन हुनुपर्ने

Posted on: 15 Feb, 2018

फागुन ३, पाल्पा | नेपालका प्रथम शहीद लखन थापाको जीवनीसहित विद्यालय तहमा पाठ्यक्रम तयारी गरी पठनपाठन सञ्चालन गर्नुपर्नेमा यहाँको एक कार्यक्रमका सहभागीले जोड दिनुभएको छ । 

प्रथम शहीद लखन थापाको १४२ औँ स्मृति दिवसका अवसरमा नेपाल मगर संघ, पाल्पाद्वारा मंगलबार तानसेनमा आयोजित शालिकमा माल्यार्पण कार्यक्रममा प्रथम शहीद थापाको योगदान ठूलो रहेको सहभागीले बताउनुभयो । 

नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर विरकट्टा मगरले काठमाडौँको शहीदगेटमा प्रथम शहीद लखन थापा मगरको सरकारले पूर्ण कदको शालिक निर्माण गर्नुपर्ने र फागुन २ गतेलाई सार्वजनिक बिदा दिनुपर्ने बताउनुभयो । उहाँले विद्यालयका पाठ्यक्रममा प्रथम शहीद लखन थापाको जीवनी समावेश गरी पठनपाठन गर्नुपर्नेसमेत बताउनुभयो । 

सरकारले सबै सरकारी कार्यालयमा प्रथम शहीद थापाको फोटो राख्नुपर्ने, सबै प्रदेश र जिल्ला तहबाट मागसहित ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाएकाले त्यसको बेवास्ता भएको खण्डमा आफूहरु कडारुपमा प्रस्तुत हुने बताउनुभयो । 

आदिवासी जनजाति समन्वय परिषद, पाल्पाका अध्यक्ष केहरसिंह रानामगरले लखन थापा मगरले जहानियाँ राणा शासनको अन्त्यका लागि विद्रोह गरी देशलाई सही बाटोमा देखाउनुभएकामा उहाँको सधैँ र सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । 

नेपाल महिला मगर संघकी अध्यक्ष प्रतीक्षा सिंजालीले प्रथम शहीद थापाप्रति राज्यबाट बेवास्ता गरिएकोमा दुःख व्यक्त गर्नुभयो । गोर्खाको काहुलेमा विसं १९३३ मा रूखमा झुण्ड्याएर राज्यपक्षबाट उहाँको हत्या गरिएको बताइएको छ । गाउँमा नै हत्या भएको हो भन्ने कुरा ऐतिहासिक रूपबाट नै सान्दर्भिक देखिन्छ । नेपाल सरकारले थापालाई विसं २०५६ मा शहीद र २०७२ असोज २ गते प्रथम शहीद घोषणा गरेको थियो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!