अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण

Posted on: 16 Feb, 2018

फागुन ४, इलाम | अपाङ्गता भएका व्यक्तिलाई सेवा दिने उद्देश्यले इलामका विभिन्न स्थानमा सञ्चालन गरिएको अपाङ्गता पहिचान शिविरमा ३५४ जनाले परिचयपत्र पाएका छन् । 

करूणा फाउण्डेशन नेपालको आयोजनामा माघ ८ गतेदेखि तीन सातासम्म सञ्चालित उक्त शिविरमा कोल्बुङ, श्रीअन्तु, फिक्कल, बरबोटे, चिसापानीलगायत विभिन्न क्षेत्रका अपाङ्गता भएका व्यक्तिले परिचयपत्र पाएका हुन् । 

शिविरमा ३८ जनालाई रातो, १०० जनालाई निलो, १४९ जनालाई पहेँलो र ६७ जनालाई सेतो परिचयपत्र वितरण गरिएको करूणा फाउण्डेशनका सन्तबहादुर विश्वकर्माले जानकारी दिनुभयो । 

रातो र निलो परिचयपत्र पाउनेले राज्यबाट क्रमशः मासिक रु दुई हजार र रु ६०० सामाजिक सुरक्षा भत्ता पाउँछन् । 

शिविरमा उनीहरुलाई स्वास्थ्य परीक्षणसमेत गरिएको थियो । 

अपाङ्गता भएका कारण परिचयपत्र बनाउन नसकेका लागि करूणा फाउण्डेशनले उनीहरुको घरदैलोमै पुगेर परिचयपत्र उपलब्ध गराउने कार्यमा सहयोग गरेको फाउण्डेशनका कार्यक्रम अधिकृत प्रदीप अधिकारीले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!