कर्णालीमा निजी क्षेत्रले १ हप्ताभित्र पुस्तक पुर्याउँदै

Posted on: 17 Feb, 2018

फागुन ५, सुर्खेत | शैक्षिक सत्र शुरू हुनुअगावै कर्णाली अञ्चलका विद्यार्थीको हातमा पाठ्य पुस्तक पुर्‍याउन निजीक्षेत्रले छापेका पुस्तक बुधवारदेखि त्यसतर्फ पठाउन शुरू गरिएको छ । 

समयमै पुस्तक नपाउँदा कर्णाली क्षेत्रका विद्यार्थीको पठनपाठनमा समस्या हुने गरेको छ । त्यस्ता समस्या समाधानका लागि निजीक्षेत्रले नेपालगञ्जलगायत ठाउँमा छापिएका कक्षा १ देखि ५ सम्मका पुस्तक कर्णालीमा पठाउन शुरू गरेको पाठ्यपुस्तक छाप्न सरकारबाट सूचीकृतमध्ये एक नयाँ मुलुक प्रकाशन प्रालिका अध्यक्ष मेघराज ओलीले जानकारी दिए । उनका अनुसार बुधवार एक कार्यक्रम गरी कर्णालीको डोल्पा, जुम्ला र हुम्लाका पुस्तक व्यवसायीलाई पुस्तक हस्तान्तरण गरिएको छ ।

‘अबको १ हप्ताभित्र सम्बन्धित ठाउँमा पुस्तक पुग्छ,’ अध्यक्ष ओलीले भने, ‘कर्णाली अञ्चलमा फागुन महीनादेखि शैक्षिक सत्र शुरू हुन्छ । तर, कक्षा शुरू हुन केही दिन लाग्ने गरेको छ । त्योभन्दा पहिल्यै हामी पुस्तक पुर्‍याउँछौं ।’ कर्णाली अञ्चलका तीन जिल्लामा रू. ६ करोड २९ लाख मूल्यबराबरको ४३ हजार ३४ सेट पुस्तक पठाइँदै छ ।

पुस्तक हस्तान्तरण कार्यक्रममा निजीक्षेत्रका मुद्रण व्यवसायीका संयोजक रामलीला पाठकले घाटा सहेरै पनि निजीक्षेत्रले हिमाली जिल्लामा पाठ्यपुस्तक पुर्याइरहेको बताए । ‘किताबको मूल्यअनुसार कसैले पनि हिमाली जिल्लामा पुस्तक पुर्याउन सक्दैन । ढुवानी खर्च अधिक छ,’ उनले भने, ‘तर कर्णाली अञ्चलका विद्यार्थी पुस्तक अभावले पढ्नबाट वञ्चित नहोऊन् भनेर घाटा खाएरै विक्री गरिरहेका छौं ।’ सरकारी निकायबाट समयमै छाप्न स्वीकृति दिने हो भने फागुनअघि नै कर्णालीमा पुस्तक पठाउन निजीक्षेत्र सक्षम रहेको उनले बताए । ‘पुसमा स्वीकृति दिएपछि फागुन महीनाभित्र कसरी पुस्तक विद्यार्थीको हातमा पुर्याउन सकिन्छ ?’ उनले भने, ‘त्यस कारण हामीलाई वर्षैभरि काम गर्ने अवसर दिनुपर्छ ।’

शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्र र निजीक्षेत्रका बीचमा समन्वयका लागि गठित पाठ्यपुस्तक निरीक्षण तथा अनुगमन समितिका सदस्य दीपक भण्डारीले निजीक्षेत्रलाई हरेक कक्षाका पुस्तक छाप्न अनुमति दिई पुस्तक अभावको समस्या समाधान गर्नुपर्ने बताए । जनक शिक्षा सामग्री केन्द्र नेपालगञ्जका प्रमुख रवीन्द्र शर्माले आफूहरूले पनि कर्णाली अञ्चलमा पाठ्यपुस्तक पठाउन शुरू गरिसकेको जानकारी दिए । यसपटक त्यहाँका विद्यार्थीले समयमै पुस्तक पाउने अपेक्षा उनले गरे । निजीक्षेत्रको सहकार्यबाटै बालबालिकाको हातमा पुस्तक पुग्ने उनको विश्वास छ ।

अभिभावक सङ्घ बाँकेका सचिव वसन्त लामिछानेले पुस्तक नपाएर विद्यार्थी पढाइबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए । यस्तै, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष बुद्धिप्रसाद अधिकारीसहित कर्णाली अञ्चलका पुस्तक व्यवसायीहरूले ढुवानी खर्च व्यवस्थापनको खाँचो औंल्याएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!