उदयपुरमा विद्यार्थीलाई निःशुल्क साइकल वितरण, विद्यालय जान सहज

Posted on: 18 Feb, 2018

— हरिकुमार राई | फागुन ६, गाईघाट (रासस) | उदयपुर चौदण्डी नगरपालिका—२ बेल्टारका सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरिएको छ । 

बेल्टारबाट टाढा–टाढा घण्टौँ लगाएर विद्यालय तथा क्याम्पस अध्ययन गर्न जान बाध्य हुने ५० जना विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरेको चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्र राईले बताउनुभयो । 

वडानम्बर २ को आयोजनामा नगरपालिकाले अहिले ५० जना विद्यार्थीका लागि साइकल वितरण गरिसकेको र अब बाँकी दुईसय साइकल निःशुल्क वितरण गर्ने लक्ष्य रहेको सो वडाका वडाअध्यक्ष सन्तोष सुबेदीले बताउनुभएको छ । 

अहिले वडा नम्बर २ का दुई सयभन्दा बढी विद्यार्थी विद्यालय र क्याम्पस जान घण्टौँ पैदल हिड्नुपर्ने वाध्यता छ, त्यस्ता विद्यार्थीलाई लक्षित गरी तत्काल ५० जनालाई साइकल वितरण गरिएको र अब बाँकी दुई सय विद्यार्थीका लागि दुई महिनाभित्रमा साइकल वितरण गरिसकिने उहाँले बताउनुभयो । 

“देशका कर्णधार विद्यार्थी भएका कारण अहिले उनीहरुले विद्यालय जानका लागि कष्ट भोग्न नपरोस् भनेर नगरपालिकाको बजेटबाट नै व्यवस्थापन गरेर साइकल वितरण अभियान शुरु गरेका छौं,” प्रमुख राईले भन्नुभयो — “अहिले करिब रु चार लाखको साईकल वितरण गरिएको छ र निकट भविष्यमै रु बीस लाखको मूल्य बराबरको साइकल वितरण गर्ने लक्ष नगरपालिकाले नगरपालिकाको छ ।” 

नगरपालिकाले साईकल वितरण गरेपछि अफूहरु एक घण्टा पैदल हिँडेर क्याम्पस जान बाध्य हुनुपर्ने समस्याबाट मुक्त भएको बेल्टार प्रगति टोलका कक्षा ११ मा अध्ययनरत् छात्रा सम्झना भुजेल बताउँछन् । 

भुजेल भन्छन्, “घरबाट बसाहा उच्चमाबि जान दैनिक हिँडेर एक घण्टा लाग्ने गथ्र्यौ, कहिले टेम्पुमा सय रुपैयाँ भाडा तिरेर जाने आउने गरेको र कहिले पैसा नहुँदा घण्टौँ लगाएर पैदल हिँडेर आउनजान बाध्यता थियो, तर नगरपालिकाले साइकल व्यवस्था गरेपछि अब २० मिनेटमा क्याम्यस पुग्ने र बीस/पच्चीस मिनेटमा घर आउन सक्ने भएका छौँ ।” 

अर्का कक्षा ९ मा अध्ययनरत् विद्यार्थी शिवराज राईले पनि नगरपालिकाले साइकल वितरण गरेपछि आफूहरुलाई विद्यालय जान सहज भएको बताउँछन् । 

राई भन्छन्, “नगरपालिकाले हामीलाई पढाउन र केही गर्नका लागि विद्यालय जान सहज होस् भनेर साइकल वितरण गर्यो, हामी पनि पढेर पछि ठूलो मान्छे भएपछि यो नगरपालिका र नगरको सेवा गरेर यो गुन तिर्ने छौँ ।” 

नगरपालिकाले टाढा विद्यालय जानुपर्ने विद्यार्थीका लागि साइकलको व्यवस्थापन गरेर उपकार गरेको र अब विद्यार्थीहरुको पढाईमा समेत सुधार हुनसक्ने तथा विद्यार्थीहरु हिँडेर थकाईको कारण पढ्न नसक्ने अवस्थाबाट मुक्त भएको अभिभावक सान्तराज कटुवाल बताउँछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!