चितवनमा सडक छेउबाट लडेर तनहुँका एक यात्रुको मृत्यु

Posted on: 18 Feb, 2018

फागुन ६, चितवन | चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ जलविरेमा पिसाब फेर्न गएका एक यात्रुको लडेर मृत्यु भएको छ । 

नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत जलविरेमा गाडी रोकेर पिसाब फेर्न सडक छेउ पुगेका तनहुँ भानु नगरपालिका — ३ का ५५ वर्षीय विष्णु जोशीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

घटना गएराति ९:२५ बजेको हो । उनी लडेर भीरमा खसेका थिए । भीरको बीचमा अड्किएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । शवलाई राति नै निकालिएको प्रहरीले जनाएको छ । 

ग१ख ४१५५ नम्बरको बसमा स्थानीयहरु लुम्बिनीमा पिकनिक खाएर फर्कने क्रममा सो घटना भएको हो । 

शसस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली र नेपाल प्रहरीको संयुक्त टोलीले राति नै शव निकालेर परीक्षणका लागि तनहुँ पठाइएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!