नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याबको मेसिन बिग्रिँदा उपचारमा समस्या

Posted on: 19 Feb, 2018

फागुन ७, पर्सा | वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा रहेका उपकरण बिग्रिएपछि उपचारका लागि अस्पताल आउने बिरामीले समस्या खेप्नुपरेको छ । 

एक घण्टामा ६० जना बिरामीको रगतबाट २०० भन्दा बढी प्रकारको परीक्षण गर्ने अटोमेटिक बायो–केमेस्ट्री एनलाएजर मेसिन एक सातादेखि बिग्रिएपछि सेवाग्राहीले उपचारमा कठिनाइ भोग्नुपरेको छ । 

प्रयोगशालामा रहेको दुवै एनलाएजर मेसिन बिग्रिएपछि एक घण्टामा हुने कामलाई चार घण्टा समय लाग्ने गरेको प्रयोगशालाका मेडिकल टेक्निसियन हीराबाबु पाण्डेले जानकारी दिनुभयो । उहाँले अटो एनलाइजरको तुलनामा मेनुबल मेसिनबाट काम गर्दा रसायण र समय दुवै बढी लाग्ने गरेको बताउनुभयो । 

ल्याबमा रहेका एनलाएजर मेसिन बिग्रेको अस्पताल प्रशासनलाई जानकारी गरिएको भए पनि हालसम्म बनाउने पहल नभएको टेक्निसिएन पाण्डेले जानकारी दिनुभयो । 

उहाँले दैनिक अढाइ समयदेखि ३०० को हाराहारीमा बिरामीको रगत, पिसाबलगायतको परीक्षण हुने गरेको र एनलाइजर मेसिन सञ्चालन नहुँदा बिरामीले रिपोट पाउन एक दिन नै कुर्नु पर्ने अवस्था रहेको बताउनुभयो । 

वीरगञ्ज र यस आसपासका बिरामीलाई खासै समस्या नभए पनि टाढा टाढाबाट उपचारका लागि उपक्षेत्रीय अस्पताल आउने बिरामी एनलाइजर मेसिन बिग्रेको मार खेप्नुपरेको टेक्निसियन पाण्डेको भनाइ रहेको छ । 

अस्पतालका मेडिकल सुपरिटेण्डेनट डा एनामुल हकले अस्पताललाई उपकरण आपूर्ति गरेका कम्पनीलाई उपकरणमा आएको खराबीबारे जानकारी गराइएको र दुई÷तीन दिनभित्र कम्पनीले इञ्जिनियर पठाई समस्या समाधान गराउने जानकारी दिएको बताउनुभयो । 

उहाँले छिमेकी चार जिल्ला र सीमावर्ती भारतीय सहरसमेतका बिरामीको चाप उपक्षेत्रीय अस्पतालमै रहेको जानकारी दिँदै ल्याबमा रहेको उपकरण तथा जनशक्तिलाई थपिने प्रयासमा भएपछि अस्पतालको आर्थिक परिस्थितिले साथ नदिएको मेडिकल सुपरिटेण्डेनट हकले बताउनुभयो । 

बारा, पर्सा, रौतहट, सर्लाही र सीमावर्ती भारतीय सहरसमेतबाट दैनिक एक हजार २०० भन्दा बढी बिरामी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि आउने गरेको र सोमध्ये २५० देखि ३०० जना बिरामीको रोग पत्ता लगाउन चिकित्सकले प्रयोगशाला सेवाबारे सुझाव दिने गरेको जानकारी दिँदै सुपरिटेण्डेनट हकले प्रयोगशालासँगै अस्पतालको श्ययाको समेत क्षमता बढाउन प्रयास भइरहेको बताउनुभयो । 

बिग्रिएको उपकरणलाई चाँडोभन्दा चाँडो मर्मत गराई सेवा प्रवाह गर्न सर्वसाधारणले अस्पताल प्रशासनलाई आग्रह गरेका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!