चितवनमा सवारी दुर्घटनामा परी २ वडाध्यक्षको मृत्यु

Posted on: 19 Feb, 2018

फागुन ७, चितवन | चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा गएराति भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका खैरहनी नगरपालिकाका वडाध्यक्षको आज उपचारका क्रममा मृत्यु भएको छ । 

चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान १०:१५ बजे खैरहनी नगरपालिका –४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । 

गएराति ८:३० बजे भएको सो दुर्घटनामा परी सोही नगरपालिका –५ का वडाध्यक्ष विश्वविजय बस्नेतको राति नै मृत्यु भएको थियो । 

खैरहनीबाट रत्ननगरतर्फ आउँदै गरेको ना३च ९८४० नंको तरकारी बोक्ने पिकअप भ्यान र विपरीत दिशाबाट जाँदै गरेको खैरहनी नगरपालिकाको बा२झ १३४४ नंको गाडी एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो । 

दुर्घटनामा घाइते भएका एकजना सवारी चालक खैरहनी–१२ का राजकुमार अधिकारीको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

फरार रहेका तरकारी बोक्ने गाडीका चालक सुमन अर्याल चितवनको सूर्यपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!